लक्ष्मी भट्ट/अतरिया- गोदावरी बहुउद्देशीय सहकारी संस्था लिमिटेड, गोदावरी नगरपालिका अतरिया, कैलालीको सातौँ वार्षिक साधारण सभा आज शुक्रबार अतरियास्थित प्रतिभा पुस्तकालयमा भव्य रूपमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष नयनसिंह कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थापना कालकी शेयर सदस्य श्रीमती निर्मला भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव धर्मसिंह कुँवरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ललिता पाठकले प्रस्तुत गरेकी थिइन् ।


सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार, संस्थाको शेयर पूँजी असार मसान्तसम्म ३८ लाख ६५ हजार ८०० रुपैयाँ पुगेको छ, जुन गत वर्ष ४० लाख ३७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी बचत संकलन १ करोड ८ लाख १२ हजार ३३४ रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो रकम ९९ लाख ५१ हजार ९२५ रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षमा संस्थाले खुद बचत आर्जन गर्न नसकी बराबरीमा रहेको जानकारी गराइयो ।

लगानीतर्फ असार मसान्तसम्ममा ८४ लाख ३४ हजार २४२ रुपैयाँ लगानी भएको छ, जुन गत वर्ष १ करोड ६ लाख ३७ हजार ३४५ रुपैयाँ थियो । हाल संस्थामा ४६८ जना शेयर सदस्य तथा ७ जना कर्मचारी कार्यरत छन् ।
संस्थाले आजभन्दा ७ वर्ष अगाडि (२०७५ असोज ८ गते) आठ लाख ७५ हजार रुपैयाँको कारोबारबाट गोदावरी आधुनिक कृषि सहकारी संस्था लिमिटेडका रूपमा विधिवत दर्ता भई सेवा सुरु गरेको थियो । पछि थप उद्देश्यहरू समेट्दै २०७९ चैत २० गतेदेखि गोदावरी बहुउद्देशीय सहकारी संस्था लिमिटेडका रूपमा कार्य विस्तार गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले “मर्यादित व्यवसायमा सहकारी प्रविधिमा हाम्रो गोदावरी” भन्ने नाराका साथ संस्थाले पारदर्शी र जिम्मेवार कारोबार गर्दै आएको उल्लेख गरे । सहकारी सानो भए पनि शेयर सदस्यहरूको भावनालाई सम्मान गर्दै आएको र अन्य सहकारीजस्तो ठगीमा नलागेको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले खराब ऋण असुलीमा सहकारी सचेत रहेको जनाउँदै अनुत्पादक क्षेत्रमा लगानी गर्दा जोखिम बढ्ने भएकाले ऋण लिँदा उद्देश्य, रकम र तिर्ने आधार स्पष्ट हुनुपर्नेमा जोड दिए । साथै, शेयर सदस्य नै सहकारीका वास्तविक मालिक भएकाले संस्थाको गतिविधिमा निगरानी र सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
“एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल नारासहित सहकारीलाई अझ सुदृढ र विश्वासिलो बनाउँदै लैजान सबै सदस्यलाई एकजुट हुन आग्रह गरिएको थियो ।





