

धनगढी- नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उपमहासचिव लेखराज भट्टलाई एकल उम्मेदवारका रूपमा सिफारिश गरेको छ।


समन्वय समिति संयोजक गणेश जिमी साउँदको अध्यक्षतामा आज बसेको बैठकले भट्टलाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिश गर्ने निर्णय गरेको हो। बैठकपछि नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य नैन सिंह कार्कीले केन्द्रबाट प्राप्त निर्देशनअनुसार उम्मेदवार सिफारिश गरिएको जानकारी दिएका छन्।



उनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले क्षेत्रीय तहबाट उम्मेदवार सिफारिश गर्ने प्रक्रिया अघि बढाएको हो। सुदूरपश्चिम प्रदेशबाट हाल एकल केन्द्रीय नेतृत्व पदाधिकारी रहेका उपमहासचिव भट्टको योगदान, राजनीतिक अनुभव र पार्टीभित्रको भूमिकालाई सम्मान गर्दै उनलाई एकल उम्मेदवारका रूपमा सिफारिश गरिएको कार्कीले बताए।
बैठकमा सहभागी पार्टी नेता तथा कार्यकर्ताहरूको साझा सहमतिमा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। पार्टी नेतृत्वको विश्वास अनुसार, क्षेत्र नम्बर ४ मा पार्टी संगठन बलियो रहेको र भट्टप्रति कार्यकर्ता तथा जनताको विश्वास रहेकोले उनी बहुमतका साथ निर्वाचन जित्ने सम्भावना राख्छन्।
भट्ट यसअघि पनि कैलाली–४ बाट पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेता हुन्। उनको राजनीतिक निरन्तरता, क्षेत्रीय विकासमा देखाएको सक्रियता तथा पार्टी संगठन विस्तारमा खेलेको भूमिकाका कारण यसपटकको निर्वाचनमा जित सुनिश्चित हुने एमाले नेताहरूको भनाइ छ। अब केन्द्रीय कमिटीबाट अन्तिम निर्णयपछि उम्मेदवारी औपचारिक रूपमा टुंगो लाग्ने जनाइएको छ।

