

अत्तरिया- कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज पनि विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सञ्चालन हुँदैछ ।


“सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सुरु भएको महोत्सव स्थानीय कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


महोत्सवको दशौं दिन आज विशेष सांगीतिक कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा आज शुक्रबार नायक पल शाह, गायिका शान्ता रानी परियार, अस्मिता जुरेली, डान्सर ऋतु चौधरी र सुशीला तिरुवा, लाल बोगटी, कुलेन्द्र परियार लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।
आयोजकले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको यो महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति रहने जनाइएको छ ।
आयोजकले आगामी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै दर्शकलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेको छ ।

सृजनशील युवा क्लबले २०६६ सालदेखि २०७१ सालसम्म महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ सालमा क्लबले महोत्सवको जिम्मेवारी अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः महोत्सव आयोजना गरेको जनाएको छ ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सवका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्य दर्शकका लागि १ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।