लक्ष्मी भट्ट/अत्तरिया- सृजनशील युवा क्लब अत्तरियाको आयोजनामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२’ आज पुष ९ गते बुधबारदेखि भव्य रूपमा सुरु भएको छ। महोत्सव पुष १९ गते शनिबारसम्म सञ्चालन हुनेछ ।


महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गर्नुभएको हो । उद्घाटन समारोहमा सृजनशील युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षता रहेको थियो ।


कार्यक्रमका विशिष्ट अतिथिहरूमा गोदावरी नगरपालिका उपप्रमुख शारदा देवी रोकाया, कार्यक्रमका मुख्य प्रायोजक विशिष्ट अतिथि निसर्ग अस्पतालका सञ्चालक तीर्थराज पन्त, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी तथा सुरक्षा वन समितिका अध्यक्ष लक्ष्मी भण्डारी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन लिलाधर बास्कोटा र रेखा धानुकले गर्नुभएको थियो ।
र्याली र झाँकीसहित उद्घाटन

महोत्सवको पहिलो दिन आज बिहान ११ बजेदेखि अत्तरिया बजार क्षेत्रमा विभिन्न संघ–संस्था, क्लब तथा स्थानीयहरूको सहभागितामा झाँकीसहितको प्रभातफेरी तथा र्याली निकालिएको थियो। र्याली बजार परिक्रमा पश्चात महोत्सव स्थलमा पुगेर औपचारिक उद्घाटन गरिएको हो।
महोत्सवको पृष्ठभूमि
सृजनशील युवा क्लबले यसअघि २०६७ देखि २०७१ सालसम्म अत्तरियामा महोत्सव आयोजना गर्दै आएको थियो । त्यसपछि २०७२ देखि २०८० सालसम्म अत्तरिया उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना गरेको थियो ।
गत वर्ष उद्योग वाणिज्य संघभित्र देखिएको विवादका कारण महोत्सव हुन सकेन। यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नदेखिएपछि सांस्कृतिक गतिविधि निरन्तरता दिने उद्देश्यसहित सृजनशील युवा क्लबले पहल गर्दै महोत्सवको आयोजना गरेको हो ।
सामाजिक उद्देश्यसहितको महोत्सव
कार्यक्रममा बोल्दै सृजनशील युवा क्लबका अध्यक्ष तथा महोत्सव व्यवस्थापन समिति संयोजक नरबहादुर राईले क्लब आर्थिक रूपमा कमजोर अवस्थामा रहे पनि व्यापारी, समाजसेवी तथा स्थानीयको सहयोगमा महोत्सव सम्भव भएको बताउनुभयो ।
उहाँका अनुसार महोत्सवबाट प्राप्त आम्दानीको ५ प्रतिशत अनाथ बालबालिकाको सहयोगमा खर्च गरिनेछ भने बाँकी रकम खेलकुद तथा सामाजिक सेवाका क्षेत्रमा लगानी गरिनेछ ।
डेढ लाख दर्शक आउने अपेक्षा
आयोजकले महोत्सव अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेका छन् । यसपटक महोत्सव स्थल परिवर्तन गरिएको छ, जसबाट खेलकुद तथा सामाजिक गतिविधिमा दीर्घकालीन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कला, संस्कृति र व्यापारको प्रवर्द्धन
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ । साथै थारू समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि छुट्टै ‘थारू गाउँ’ प्रदर्शनी, तथा व्यापारीहरूका लागि १८० वटा स्टल निर्माण गरिएको छ ।
महोत्सवको उद्देश्य मनोरञ्जन मात्र नभई स्थानीय नेपाली कला, संस्कृति, भेषभूषा, रहनसहन, सभ्यता र व्यापारको संरक्षण तथा विकास गर्नु रहेको आयोजकले जनाएको छ ।
टिकट दर र समय
महोत्सव बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीका लागि टिकट दर: ५० रुपैयाँ
अन्य दर्शकका लागि: १०० रुपैयाँ
सम्पूर्ण महोत्सव अवधिका लागि: ५०० रुपैयाँ
उद्घाटनको दिन आज भने निःशुल्क प्रवेश व्यवस्था गरिएको थियो ।
सुरक्षा व्यवस्था
महोत्सव स्थलमा सिसी क्यामेरा, स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरी शान्ति–सुरक्षाको पूर्ण व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
नगरप्रमुखको प्रतिबद्धता
कार्यक्रममा बोल्दै नगरप्रमुख वीरेन्द्र भट्टले सृजनशील युवा क्लब अत्तरिया क्षेत्रकै अग्रणी युवा क्लब भएको उल्लेख गर्दै नगरपालिकाले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म क्लबको उत्थानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सृजनशील युवा क्लबले सांस्कृतिक कार्यक्रमसँगै खेलकुद, समाजसेवा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । अन्य युवा क्लब तथा संघ–संस्थाहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने उहाँको भनाइ थियो ।


