

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र समग्र विकासका लागि पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडि बढाएको छ । नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना बनाउने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो ।


समितिको संयोजकमा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई नियुक्त गरिएको छ । समितिमा निजी विद्यालयका तर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापक पीताम्बर जोशी र धनसिंह महरा सदस्यका रूपमा तथा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्ट सदस्य–सचिवका रूपमा रहनेछन् ।



समितिले नगरभरिका विद्यालयहरूको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती र अभिभावकको अपेक्षा सम्बन्धी तथ्यांक संकलन गरी व्यावहारिक र परिणाममुखी योजना तयार गर्ने बताइएको छ ।
योजनाले गुणस्तरीय शिक्षामा समान पहुँच, विद्यार्थीमैत्री वातावरण, आइसिटि–आधारित सिकाइ, शिक्षक क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधार कार्यक्रम सञ्चालन, बालविकासदेखि माध्यमिकसम्म पूर्वाधारको नक्शाङ्कन, छात्रवृत्ति र पोषण कार्यक्रम, विशेष र समावेशी शिक्षाको प्रवर्द्धन तथा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउने लक्ष्य राखेको छ ।
संयोजक ऐरका अनुसार पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्दै स्थानीय आवश्यकता र आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन र प्रगतिमुखी योजना निर्माण गर्नेछ ।