

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले तिहार र छठ पर्व सकिएलगत्तै प्रदेशसभा बैठक आह्वान गर्ने तयारी थालेको छ। गत भदौ २४ गतेको आन्दोलनमा पूर्ण क्षतिग्रस्त बनेको प्रदेशसभा भवनको पुनर्निर्माण बजेट अभावका कारण अझ सुरु हुन सकेको छैन।



मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार, “पुनर्निर्माण प्रक्रिया अघि बढ्दैछ र आवश्यक परे अस्थायी संरचनाबाट बैठक सञ्चालन गरिनेछ।” तर प्रदेशसभा सचिवालयले तत्काल बैठक बोलाउन सक्ने अवस्था नरहेको जनाएको छ। भवन, समितिका कक्ष र उपकरणहरू जलेर नष्ट भएका कारण भौतिक पूर्वाधार अभावमा बैठक स्थगित रहेको हो।


हाल प्रदेशसभामा दर्ता भएका तीन महत्वपूर्ण विधेयक — टीकापुर प्राविधिक विश्वविद्यालय स्थापना विधेयक, बढघर भल्मन्सा सम्बन्धी विधेयक, र वन ऐन संशोधन विधेयक पनि स्थगित छन् । राजनीतिक दलका नेताहरूले अवरुद्ध विधायकीय कार्य अघि बढाउन बैठक चाँडै बोलाउनुपर्नेमा जोड दिएका छन्।
प्रदेशका सांसदहरूले नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा ढिलाइ भएकोमा असन्तुष्टि जनाउँदै तिहारपछि सम्भावित बैठकलाई प्रदेशको विकास र राजनीतिक स्थायित्वका लागि निर्णायक बैठकको रूपमा हेरिएको बताइन्छ।





