लक्ष्मी भट्ट/अत्तरिया- बसन्तपुर–१ निवासी नर्सरी व्यवसायी नरबहादुर खडायतले सरकारले सबै प्रकारका कृषकहरूलाई तालिम, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । कृषि पेशा सम्मानजनक र आत्मनिर्भर बनाउने माध्यम भएको भन्दै उनले युवाहरूलाई पनि कृषितर्फ आकर्षित हुन आग्रह गरेका छन् ।



पहिले काठ मिस्त्रीको पेशामा संलग्न रहेका खडायतले धेरै मेहनत गर्दा पनि कम आम्दानी हुने महसुस गरेपछि कृषि व्यवसायमा प्रवेश गरेका हुन् । सुरुमा उनले बाख्रापालन र मौरीपालनबाट अनुभव बटुलेका थिए । त्यसपछि उनले नर्सरी व्यवसाय सुरु गरे, जसबाट अहिले वार्षिक तीन देखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले भने, “कृषि पेशाबाट पनि सम्मान र पहिचान दुवै पाइन्छ, त्यसैले म यो पेशालाई आफ्नो गर्वको विषय ठान्छु ।”

उनका अनुसार हाल नर्सरी व्यवसायमा बजार समस्या देखिएको छ । “तीन–चार महिनादेखि नर्सरीका बिरुवा बिक्रीमा समस्या आएको छ,” उनले भने, “सरकारबाट प्रत्यक्ष आर्थिक सहयोग नपाए पनि केही समयअघि तालिम पाएको छु, तर अझै पनि कृषकहरूलाई प्राविधिक ज्ञान र बजार व्यवस्थापनको सहयोग आवश्यक छ ।”
नरबहादुर खडायतले कृषकहरूको कठिनाइलाई बुझ्दै सरकारले सबै प्रकारका कृषकहरूमा मौरीपालक, बाख्रापालक, माछापालक, तरकारी उत्पादक, च्याउँ व्यवसायी, फूल तथा जडीबुटी व्यवसायी जस्ता सबैलाई समान रूपमा सहयोग गर्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार कृषि क्षेत्रमा लगानी र प्रविधिको प्रयोग बढाउन सके देशमा रोजगारी सिर्जना र आत्मनिर्भरता दुवै सम्भव छ ।
उनले थपे, “हाम्रो देशमा धेरै मानिसहरू अल्छी छन् । आफ्नै बारीमा उत्पादन गर्नु भन्दा भारतबाट ल्याइएका वस्तु खान मन पराउँछन् । यस्तो सोच परिवर्तन हुनुपर्छ ।” उनले युवाहरूलाई पनि वैदेशिक रोजगारमा मात्र निर्भर नभई आफ्नै गाउँघरमा कृषि पेशाबाट आत्मनिर्भर बन्न आग्रह गरे ।
खडायतले बेरोजगार युवाहरूका लागि सरकारले विशेष कृषि तालिम कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार यस्ता कार्यक्रमले युवाहरूलाई आकर्षित गरी देशभित्रै रोजगारी सिर्जना गर्न सहयोग पुर्याउनेछ ।
उनले भने, “सरकारले कृषकहरूका आवाज सुन्नुपर्छ, तालिम र अनुदानका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्छ । कृषक बलियो भए मात्र देशको अर्थतन्त्र मजबुत हुन्छ ।”
