प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार, खनाल अर्थमन्त्री र घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थपेकी छन्।



प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबारको निर्णयअनुसार पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरिएको छ भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।



खनाल लामो समयसम्म सरकारी सेवामा रही अर्थतन्त्रसँग जोडिएका विभिन्न तहमा काम गरेका अनुभवी ब्यूरोक्र्याट हुन्। उनले अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएपछि बजेट व्यवस्थापन, राजस्व वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सरकारलाई ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै, लोडसेडिङ अन्त्य गरेर ‘पावर म्यान’का नामले चर्चित बनेका कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। एकैपटक तीन मन्त्रालयको नेतृत्व सम्हाल्नुपर्ने जिम्मेवारी चुनौतीपूर्ण भए पनि घिसिङले संस्थागत सुधार र छिटो नतिजा दिने क्षमतामा विश्वास गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यससँगै मन्त्रिपरिषद् थप सशक्त बनेको भन्दै सरकारका निकट स्रोतहरूले बताएका छन्। दुवै मन्त्रीको शपथग्रहण समारोह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सम्पन्न हुने तयारी भइरहेको छ।




