


धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–१ का १३ वर्षीय सुवास विकको सर्पदंशका कारण निधन भएको छ । स्थानीय बाल कल्याण माध्यमिक विद्यालयका कक्षा ४ का विद्यार्थी सुवासलाई गत भदौ १३ गते राति करिब साढे १० बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा करेत सर्पले टोकेको थियो ।



परिवारका अनुसार सर्पले दाहिने हातको औँलामा डसेपछि उनलाई तत्काल टीकापुर अस्पताल लगिएको थियो । अस्पतालले एन्टिस्नेक भेनम दिए पनि भेन्टिलेटरको सुविधा नहुँदा सुवासलाई नेपालगन्ज रिफर गरिएको हो । कोहलपुर मेडिकल कलेजमा समेत भेन्टिलेटर खाली नभएको भन्दै भेरी अस्पताल र अन्य निजी अस्पतालमा समेत धाइँदा पनि तत्काल उपचार सम्भव भएन । अन्ततः एक न्युरो अस्पतालमा भर्ना गरिए पनि भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो ।


पीडित परिवारले अस्पतालहरूको लापरबाही र आवश्यक सुविधा नहुँदा बालकको ज्यान गएको आरोप लगाएका छन् । “नजिकै सर्पदंश उपचार केन्द्र भएको भए छोरालाई बचाउन सकिन्थ्यो,” बालकका बुवाले पीडा पोख्दै भने ।
सुवास लम्कीचुहामा तत्काल सर्पदंश उपचार केन्द्र नहुँदा मृत्यु हुन पुगेको स्थानीयवासीको बुझाइ छ । उनीहरूका अनुसार छिमेकी पालिका बर्दगोरियामा यो सुविधा सुरु भए पनि लम्कीचुहामा अहिलेसम्म नआएकोले उपचार ढिलो भयो । “यहाँबाट लम्की पुग्न १०–१५ मिनेट लाग्छ, सुविधा भएको भए बच्थ्यो,” स्थानीयले प्रतिक्रिया जनाएका छन् । सुवास परिवारका एक्ला छोरा थिए । उनको असामयिक निधनले परिवार गहिरो शोकमा डुबेको छ ।





