अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ३, १०, ११ र १२ का वडा कार्यालयले सडकमै टेवल–कुर्सी राखेर कामकाज गर्ने निर्णय गरेका छन् । चौकीडाँडा–फल्टुडे सडक खण्ड ६ वर्षसम्म पनि निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती भएकाले वडाध्यक्षहरु सामूहिक आन्दोलनमा उत्रिएका हुन् ।


वडा नं ३ का अध्यक्ष तेज राज अवस्थी, वडा नं १० का अध्यक्ष रवीन्द्र शाही, वडा नं ११ का अध्यक्ष प्रेम सिंह बडैला र वडा नं १२ का अध्यक्ष भीम बहादुर खड्कासहितका जनप्रतिनिधिहरु अब सडकमै बसेर सेवाप्रवाह गर्न तयार भएको घोषणा गरेका छन् । उनीहरुको भनाइमा दैनिक यातायात अवरोध, जनताको दुःख र लामो प्रतीक्षापछि पनि सुनुवाइ नहुँदा यस्तो कदम चाल्नुपरेको हो ।

स्थानीयवासीले पटक–पटक नगरपालिका, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा दवाव दिए पनि सडक निर्माणको काम अगाडि नबढेको गुनासो गरेका छन् । उनीहरुका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले काम नगरेको र सम्बन्धित निकायले कुनै कारबाही नगरेपछि वडाध्यक्षहरुले सडकमै कामकाज गरेर सरकार र निर्माण कम्पनीलाई दवाव दिन लागेका हुन् ।
जनप्रतिनिधिहरुले तत्काल निर्माण कम्पनीलाई प्रकाउ गरी काम सुरु गराउन वा ठेक्का रद्द गरी अन्य सक्षम कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन् । उनीहरु भन्छन्, “सडक बन्नासाथ जनताले राहत पाउँछन्, अन्यथा हामी सडकमै कार्यालय सञ्चालन गरेर निरन्तर दवाव दिन्छौं ।”
