बाङ्गिँदै ढल्न लागेको विद्युत् पोलप्रति स्थानीय चिन्ता, प्राधिकरणलाई बेलैमा जानकारी गराउन आग्रह
लक्ष्मी भट्ट/अत्तरिया- कैलाली जिल्लाको विभिन्न स्थानमा गाडिएका विद्युत् पोलहरू अहिले आएर बाङ्गिँदै ढल्न लागेका देखिएका छन् । यस्ता पोलहरू ढल्ने जोखिम बढ्दै जाँदा स्थानीयवासीहरू त्रसित बनेका छन् । वर्षायाममा जमिन चिपचिपो हुने र पानी जम्ने भएकाले पोल ढल्ने सम्भावना उच्च हुने गरेको छ भने हुरीबतासले पनि थप जोखिम निम्त्याउने गरेको जनाइएको छ ।

बाटोमा हिँड्ने सामान्य यात्रु तथा स्थानीय बासिन्दाले बाङ्गा र ढल्न लागेका पोल देख्दा आफूलाई कुनैबेला पोल खस्ने हो कि भन्ने डर हुने बताएका छन् । कतिपय स्थानमा पोलमा तारै–तार अव्यवस्थित रूपमा जडान गरिएका कारण सुरक्षाको दृष्टिले थप जोखिम बढेको स्थानीयहरूले बताएका छन् ।


स्थानीय तेजबहादुर बलायरका अनुसार, “यस्ता डरलाग्दा पोलहरू ढल्नु अघि नै सम्बन्धित निकायले व्यवस्थापन गर्न जरुरी छ । ढलिसकेपछि मात्रै मर्मत गर्ने हो भने दुर्घटना निम्तिन सक्छ,” भन्दै तत्काल पहल आवश्यक रहेको उनले बताए ।
यस सम्बन्धमा बुझ्दै जाँदा नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख सुनिल खड्काले समस्याको समाधानका लागि जनताको सक्रियता आवश्यक रहेको बताए । उनले भने, “जहाँ पोल ढल्ने अवस्थामा पुगेको छ वा बाङ्गो भएको छ, त्यहाँका जनताले हाम्रो शाखामा कम्प्लेन गर्नुपर्छ । कम्प्लेन आएपछि सामान्य मर्मत यही अत्तरियाबाट हुन्छ, तर ठूलो समस्या परे धनगढी वितरण केन्द्रमा खबर गरेर समाधान गरिन्छ ।”
उनले सामान्य बाङ्गो भएको पोल तत्कालै खतराजनक नभए पनि जनताले जानकारी गराएपछि समस्या समाधान गरिने स्पष्ट पारे। खड्काले प्राधिकरण आफैले सबै ठाउँमा पुगेर तत्कालै समस्या देख्न नसक्ने भएकाले जनताले बेलैमा खबर गर्नु अपरिहार्य रहेको बताए ।
यसैबीच, स्थानीयहरू भने प्राधिकरणले नियमित अनुगमन गरेर ढल्न लागेको पोलहरूको सूची संकलन गरी तत्काल मर्मत गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आएका छन् । उनका अनुसार ढिला–चाँडो नभई समयमै कारवाही र मर्मत गरेमा ठूलो दुर्घटनाबाट बच्न सकिने देखिन्छ ।
