अत्तरिया- विद्यालय शिक्षा विधेयक–२०८० का अव्यवहारिक र विभेदपूर्ण प्रावधान खारेजको माग सहित सोमबार गोदावरीमा शान्तिपूर्ण विरोध र्याली सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) गोदावरी नगर कार्य समितिको अगुवाइमा आयोजित विरोधमा अत्तरिया आसपासका सडकमा विद्यालय बसहरू उतारेर कालो झण्डा टाँसिएको थियो । शिक्षक तथा संस्थापकहरूले समेत हातमा कालो पट्टी बाँधेर सहभागी भएका थिए । र्याली गोदावरी हुँदै कृष्णपुरको गुलरिया पुगेर अन्ततः अत्तरिया बसपार्कमा कोण सभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त उपस्थिति रहेको थियो । सहभागीहरूले विधेयकका विवादास्पद प्रावधान सच्याउन माग गर्दै सरकारलाई दबाब दिएका थिए ।
आन्दोलनकारीहरूले विधेयकमा समावेश “निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने” खालका धाराहरू सच्याउनुपर्ने, हाल प्रचलनमा रहेको जम्मा १० प्रतिशत छात्रवृत्ति कायम राख्नुपर्ने र “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनुपर्ने माग दोहोर्याएका छन् ।

केन्द्रीय उपाध्यक्ष (प्याब्सन) का जगबीर थापाले विद्यालय शिक्षा विधेयकका कतिपय धारा शिक्षा ऐन र कम्पनी ऐनसँग विसंगत रहेको भन्दै तत्काल संशोधन गर्नुपर्नेमा जोड । १५ प्रतिशत छात्रवृत्तिमा बसोबास, पोसाक र खानपानसम्म समावेश गर्न खोज्नु निजी विद्यालयमाथि अनावश्यक बोझ भएको आरोप लगाएका थिए ।
सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायतले ५२ वर्षपछि ल्याउन लागिएको नयाँ ऐन सेवा–मुखी व्यवसायलाई धराशायी पार्ने खालको भएको कुरा व्यक्त गरे ।
अध्यक्ष (प्याब्सन गोदावरी नगर) मदन जोशीले यसअघि पालिकास्तरमा बिरोध कार्यक्रम सम्पन्न भएको स्मरण गर्दै, सोमबार बसमा कालो झण्डा टाँसी सडक प्रदर्शनमार्फत विरोधलाई निरन्तरता दिएको जानकारी दिए ।
जिल्ला अध्यक्ष (नेसनल प्याब्सन) ललित साउँदले कम्पनी दर्ता भएपछि नाफा–घाटा हुनु स्वाभाविक भए पनि सरकारले ल्याएको “गैरनाफामूलक” भन्ने शब्दावलीले विद्यालय सञ्चालकलाई अप्ठ्यारोमा पारेको प्रतिक्रिया दिँदै आन्दोलन सफल नभए जिल्लाभरका विद्यालयका चाबी जिल्ला प्रशासनमा बुझाउने चेतावनी दिएका छन् ।
त्यस्तै सो कार्यक्रममा गुराँस एकेडेमीका संस्थापक अध्यक्ष तथा नेसनल प्याब्सनका पूर्व जिल्ला उपाध्यक्ष डम्बर सिंह कडायत, जेके सेकेन्डरी स्कुलकी सञ्चालिका जाग्रिती बोगटी, सुनगाभा मोडेल स्कुलका सञ्चालक दिर्घ साउद, सक्षम पाठशालाका सञ्चालक तर्कराज भट्टराई लगायतको पनि उपस्थिति रहेको थियो ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संघसंस्थाहरूको संयुक्त बस र्यालीले विद्यालय शिक्षा विधेयक–२०८० का प्रावधान संस्थागत विद्यालयलाई धराशायी पार्ने उद्देश्यले ल्याइएको भन्दै कडा आपत्ति जनाएको छ । आन्दोलनकारीहरूले तत्काल विधेयक सच्याउन सरकारलाई आग्रह गर्दै आन्दोलनलाई अझ व्यापक बनाउन चेतावनी दिएका छन् ।
