




काठमाडौँ- आगामी कात्तिक २७ गतेबाट नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले आइतबार चलचित्रको फष्टलुक्स सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।




सार्वजनिक पोस्टरमा कैलाश पर्वतमा जटाधरी शिव उक्लिँदै गरेको दृश्य र शिवको वाहन साँढे (नन्दी) देखाइएको छ । साँढेको निधारमा त्रिशूल अंकित छ तर यसको प्रतीकात्मक अर्थ र चलचित्रसँगको प्रत्यक्ष सम्बन्धबारे भने निर्माण पक्षले हालसम्म केही खुलाएको छैन ।






पोखरा र वरपरका स्थानमा छायांकन गरिएको ‘शिवांश’ अहिले पोस्ट प्रोडक्सनको चरणमा पुगेको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रलाई निर्देशक सन्तोषकुमार आत्रेयले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय प्रयास पनि हो । चलचित्रका निर्माता अञ्जान केसी हुन् ।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने अन्य भूमिकामा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायतका कलाकार देखिनेछन् ।


चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् भने स्क्रिप्ट बारत लिम्बूले तयार पारेका छन् । स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रका सह–निर्मातामा शोभा भण्डारी, अनिस केसी बोगटी छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन् ।
प्राविधिक पक्षमा सरद महतोले डीओपीको जिम्मा सम्हालेका छन् । मिलन श्रेष्ठले द्वन्द्व निर्देशन, विक्रम चौहानले कोरियोग्राफी गरेका छन् । भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का हुन् भने भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहेका छन् ।
संगीत पक्षमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले संगीत भरेका छन् । गीतकारमा विप्लव प्रतीक र राजनराज शिवाकोटी रहेका छन् भने स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज सुन्न पाइनेछ ।
आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनमा प्रतीक चौधरी, प्रोडक्सन म्यानेजरमा मिलन मानन्धर, कस्ट्युममा कमल मिश्र, मेकअपमा तुलसा लिम्बू, र पोस्टर फोटोग्राफीमा युवाहाङ राई रहेका छन् ।
चलचित्रको पोस्ट प्रोडक्सनको काम चलचित्र चौतारीले गर्दैछ भने वितरणको जिम्मा डिजिटल चलचित्र नेपाल (DCN) ले लिने भएको छ ।

