सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदै

अत्तरिया- सुदूरपश्चिमेलीको मौलिक पर्व गौरा अन्तर्गत आज तेस्रो दिन ‘भितरीकी गौरा’ अर्थात् ठूली गौरा धुमधामका साथ मनाइँदै छ । ब्रतालु महिलाहरूले बिहानै नुहाइधुवाइ गरी साँझको समयमा गौरादेवीलाई गौराघरमा भित्र्याउने परम्परा रहिआएको छ ।

स्थानीय संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई महिलाहरूले विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ लिन्छन् । यस दिन अमुक्ताभरण सप्तमी परेको हुनाले ब्रतालु महिलाहरू समूहमा भेला भई फाग गाउने, गौरादेवीको पूजा गर्ने र फलफूल तथा बिरुडाको अर्पण गर्ने परम्परा रहिआएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस अवसरमा गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरी विशेष पूजा गर्ने गरिन्छ । महिलाहरूले पूजामा प्रयोग गर्ने विशेष धागो दुबधागो पनि आजै गौरादेवीमा चढाउने प्रथा छ । भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीको दिन उक्त दुबधागो धारण गर्ने चलन रहेको पण्डित जयानन्द भट्टले जानकारी दिए ।

गौराको प्रतिमूर्ति बनाउन खेतबारीमा पाइने साउ, अपामार्ग, तीललगायतका वनस्पति प्रयोग गरिन्छ । साँझको समयमा महिलाहरूले कुण्डमा स्नान गर्ने परम्परा पनि रहिआएको छ ।

गौरापर्वको प्रमुख दिन मानिने सप्तमीमा पूजा सम्पन्न गरेपछि महिलाहरूले राति मिठोमसिनो भोजन गर्ने गर्दछन् । भोलि अठ्यावाली अर्थात् गौराष्टमीका दिन गौरालाई गौराघरबाट गौराखलामा लगेर सामूहिक पूजा गर्ने परम्परा रहेको छ ।

यस पर्वमा धार्मिक अनुष्ठानसँगै विभिन्न मौलिक खेलहरूजस्तै ठाडो, ढुस्को, धमारी, चैत खेल्ने चलन पनि रहेको छ । यसै कारण गौरा पर्वलाई सुदूरपश्चिममा दशैंभन्दा पनि बढी महत्त्व दिइने गरिन्छ । पर्वको अवसरमा परदेशमा रहेका मानिसहरू समेत घर फर्कने चलन छ, जसले यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा स्थापित गरेको छ ।

Loading...