कैलाली- टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइँ संस्थाको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दलीय उम्मेदवारहरू खडा भए पनि परिणाम मिश्रित आएको छ ।

साउन ३० गते भएको निर्वाचनमा ३,६९३ मत खसेकोमा ९३७ मत बदर भएका थिए। आइतबार राति सकिएको मतगणना अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खड्ग धामी १,२३८ मतसहित विजयी भएका छन्। कोषाध्यक्षमा कांग्रेसकै हिरा सिंह विष्ट १,११० मत पाएर निर्वाचित भए। उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की सीतादेवी चौधरी १,०५१ मत र सचिवमा नेकपा (एमाले) का प्रकाश खड्का ७७३ मतसहित विजयी भए।


सदस्यमा कांग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, एमालेका बमबहादुर ओली, जाल्पा भट्टराई र समाजवादीका तेजे ठकुल्ला निर्वाचित भएका छन्। माओवादी केन्द्रकी श्रृजना शर्मा पण्डितले ४४४ र नागरिक उन्मुक्तिका विश्राम चौधरीले ३८८ मत पाएर पराजित भए।
कूल ८,६७० उपभोक्तामध्ये ६,७९२ मतदाता सूचीमा दर्ता थिए।
नवनिर्वाचित अध्यक्ष धामीले आर्थिक पारदर्शिता कायम गर्ने र स्वच्छ खानेपानी वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अघिल्ला समितिले लाखौँ रुपैयाँ पेश्की लिएर व्यक्तिगत काममा खर्च गरेको आरोप रहेको छ। खानेपानीले गत वर्ष ३ करोड ४२ लाख रुपैयाँ पानी महसुल उठाएको थियो भने नगर विकास कोषको १३ करोड ८ लाख ऋण तिर्न बाँकी छ।
