अत्तरिया- थारू समुदायले मनाउने श्रीकृष्ण जन्माष्टमी अर्थात् अष्टिम्की पर्वसँगै परम्परागत चित्रकला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रभाव र पुस्तान्तरण अभावका कारण अष्टिम्की पर्वमा घरको बैठक कोठामा बनाइने लोकचित्रको प्रचलन घट्दै गएको स्थानीयहरूको गुनासो छ ।


पहिलेदेखि अष्टिम्कीका अवसरमा व्रतालु महिलाले घरको बर्हीमा भगवान् कृष्णसहित प्रकृति, जनावर र मानव जीवनका गतिविधिहरू चित्रण गर्ने परम्परा थियो । सिमीको पात, खयर, पवैको गेँडा, सुकेको लौकाजस्ता प्राकृतिक सामग्रीबाट रङ बनाइने चलन रहँदै आएको भए पनि अहिले युवापुस्ताले सिक्न मान्न छाडेका कारण प्रथा हराउँदै गएको छ ।

अहिले अधिकांश गाउँमा चित्र कोर्ने परम्परा हराएको र बजारमा पाइने तयार पोस्टर टाँसेर पूजा गर्ने चलन बढेको समाजसेवीहरूले बताएका छन् । केही गाउँमा मात्र अझै चित्र बनाएर सामूहिक रूपमा पूजाआजा गर्ने परम्परा जीवित छ ।
थारू अगुवाहरूका अनुसार अष्टिम्कीको चित्रले सृष्टिदेखि मानव जीवन र प्रकृति–प्राणीको सम्बन्धलाई प्रकट गर्ने भएकाले यसको संरक्षण अत्यावश्यक छ । उनीहरूले पुस्तान्तरणमार्फत थारू समुदायको मौलिक सांस्कृतिक पहिचान जोगाउन जोड दिएका छन् ।
