अत्तरिया- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकेन्द्र बुढा नियुक्त गरिएको छ ।


खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोकेन्द्र पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकेन्द्रलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।

लोकेन्द्रले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् । काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि लोकेन्द्र बुढा आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।
नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कबिता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो ।
