गोदावरी नगरपालिकाको छैटौँ नगरसभा सम्पन्न
कुल स्वीकृत बजेटबाट ९ करोड ६५ लाख ७ हजार घटाइयो





अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले आफ्नो छैठौं नगर सभा तथा बन्दसत्र सम्पन्न गरेको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदको अध्यक्षतामा धनगढी रोडमा रहेको दिव्य रोजिनको हलमा शनिबार सम्पन्न नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देव राज जोशीले नगरपालिकाको दोस्रो चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाको छैंटौ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख साउँदले नगपालिका भित्र हुने विकास निर्माणका काममा कसैसंग पनि भेदभाव नगरेको बताए ।





नगरप्रमुख साउँदले भने- ‘मैले सबैलाई समान तरिकाले हेरेको छु । कतै पनि पक्षपात गरेको छैन सबैलाई समान तरिकाले हेर्ने गरेको बताएका छन् ।’
गोदावरी नगरपालिकाको आन्तरिक आयश्रोत कमजोर भएपछि चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक बजेट नै घटाइएको छ । कुल स्वीकृत बजेटबाट ९ करोड ६५ लाख ७ हजार रुपैयाँ बजेट संशोधन गरेर घटाइएको हो । कोभिड-१९ लगायत कारण नगरपालिको आन्तरिक श्रोत नै कमजोर भएपछि बजेट संशोधन गरेर छैटौँ नगरसभाबाट स्वीकृत वार्षिक बजेट नै घटाउनु परेको नगरपालिका प्रवक्ता एवं गोदावरी नगरपालिका-१ का वडा अध्यक्ष शर्मानन्द भट्टले जानकारी गराए ।


गोदावरी नगरपालिकाभित्र चालु आर्थिक वर्ष २०७७/७८ का लागि सडक निर्माण अन्तर्गत स्वीकृत १२ करोड बजेटबाट घटाएर ८ करोड २५ लाख ६० हजारमा झारिएको छ । गोदावरी नगरपालिका कार्यालयले आयोजना गरेको छैटौँ नगरसभाबाट सडक निर्माण तर्फ बजेट थपघट संशोधन गरी प्रत्येक वडाको सडक निर्माणको बजेट कटौती गरेर खुद कायम रहेको बजेटसहितको प्रतिवेदन प्रस्तुत गरिएको हो ।
चालु आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाभित्रका १२ वटै वडाको सडक विकासका लागि भन्दै एक/एक करोडका दरले १२ करोड रुपैयाँ स्वीकृत गरिएको थियो । वडा नम्वर १ देखि वडा नम्वर १२ सम्म प्रत्येक वडाबाट ३१ लाख २० हजारका दरले बजेट कटौती गरी प्रतिवडा ६८ लाख ० हजारमा झारिएको छ । चालु आवका लागि वडाहरुको खुद कायम बजेट भने वडाअनुसार घटीबढी हुने गरी संशोधन गरिएको छ ।

संशोधनअनुसार गोदावरी नगरपालिका वडा नम्वर १ को सडक निर्माणका लागि ७३ लाख ६ हजार, वडा नम्वर २ का लागि ७१ लाख २३ हजार, वडा नम्वर ३ का लागि ६९ लाख ३५ हजार, वडा नम्वर ४ का लागि ६७ लाख दुई हजार, वडा नम्वर ५ का लागि ६८ लाख ६९ हजार र वडा नम्वर ६ का लागि ६९ लाख ६८ हजार खुद कायम बजेट रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गोदावरी नगरपालिका वडा नम्वर ७ का लागि ७० लाख १३ हजार, वडा नम्वर ८ का लागि ७० लाख २५ हजार, वडा नम्वर ९ का लागि ६७ लाख ९४ हजार, वडा नम्वर १० का लागि ६६ लाख ६९ हजार, वडा नम्वर ११ का लागि ६६ हजार ९४ लाख तथा वडा नम्वर १२ का लागि ६४ लाख बजेट खुद कायम हुने गरी सडक निर्माण अन्तर्गतको बजेट घटाइएको हो ।
गोदावरी नगरपालिकाको चालु आवका लागि स्वीकृत वार्षिक बजेट ४३ करोड ८५ लाख ९७ हजारबाट घटाएर ३९ करोड ४९ लाख ८ हजार कायम हुने गरी घटाइएको छ । वार्षिक स्वीकृत बजेट थप घटका लागि संशोधन नै गरी शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, कृषि विकास शाखा, पशु विकास शाखा, महिला विकास शाखा, सहकारी सामाजिक तथा आर्थिक विकास शाखा (पर्यटन विकास समेत) गरी बजेट घटाइएको छ । गोदावरी नगरपालिकाले वार्षिक स्वीकृत बजेटबाट ९ करोड ६ लाख ५७ हजार घटाइएको छ । गोदावरी नगरपालिका नगरप्रमुख हरिसिंह साउँदको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभा चालु आवको बजेट थपघट तथा संशोधन, आव २०७६/०७७ र चालु आवको दोस्रो चौमासिकसम्मको हिसावकिताब, २०७६/०७७ को बेरुजु लगायत विषयहरु उक्त सभामा प्रस्तुत गरिएको थियो ।
उक्त सभामा अत्तरिया सहरी स्वास्थ्य केन्द्र गोनपा-१, लालपुर सहरी स्वास्थ्य केन्द्र गोनपा-६, बल्मी सहरी स्वास्थ्य केन्द्र गोनपा-९, बुढीतोला सहरी स्वास्थ्य केन्द्र गोनपा-४ र स्याउले सहरी स्वास्थ्य केन्द्र गोनपा-८ स्थापना गरेर अहेव, अनमी र कार्यालय सहयोगी सहित तीन/तीन जना कर्मचारीको व्यवस्था गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।



