गोदावरी नगरपालिकाबाट ५८ वटा कृषि यान्त्रिकरण मिनिटेलर वितरण

अत्तरिया— गोदावरी नगरपालिकाले कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्न र श्रम घटाउन ५८ वटा कृषि यान्त्रिकरण मिनिटेलर (हाते ट्रेलर) वितरण गरेको छ।

नगरपालिकाको कृषि शाखाको समन्वयमा बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, वडाध्यक्षहरू तथा कृषक समूहका प्रतिनिधिहरूको उपस्थितिमा उपकरणहरू हस्तान्तरण गरिएको हो।

Navadurga sun

कार्यक्रममा नगर प्रमुख भट्टले किसानलाई प्रविधिमैत्री बनाउन यस्ता यन्त्रहरू आवश्यक रहेको उल्लेख गर्दै भने, “मेहनत गर्ने हातमा सहुलियत पुग्नुपर्छ भन्ने सोचका साथ ५० प्रतिशत अनुदानमा यस्ता उपकरण वितरण गरेका हौं। कृषिमा यान्त्रिकीकरण बढे मात्र उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव छ।”

उनले अघिल्ला वर्षहरूमा पनि यस्ता उपकरणहरू वितरण गरिएको जानकारी दिँदै, केही कृषकले उपकरण बेच्ने वा दुरुपयोग गर्ने प्रवृत्ति देखिएकाले यस्ता गतिविधिमा नियन्त्रण गर्न उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरिने बताए।

कार्यक्रममा उपप्रमुख रोकायाले २०७९ सालमा १ सयभन्दा बढी कृषकलाई यस्तै उपकरण वितरण गरिएको उल्लेख गर्दै यस वर्ष कृषकको माग र बजेटलाई ध्यानमा राखेर समानुपातिक वितरण गरिएको बताइन्।

कृषि शाखा प्रमुख नन्दी मल्लले कृषक समूहहरूबाट प्राप्त मागको विश्लेषणपछि ५० प्रतिशत अनुदानमा मिनिटेलर वितरण गरिएको जानकारी दिइन्। उनका अनुसार वितरण गरिएका यन्त्रहरू स्थानीय उत्पादनमा प्रयोगात्मक र उपयोगी हुने छन्।

कार्यक्रममा कृषक समूहका प्रतिनिधिहरू, कृषि प्राविधिक, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। उपकरण पाएका कृषकहरूले उत्साह व्यक्त गर्दै उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ADD Khali jpg
Loading...