काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो ।




एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । अब उनीसँग चूपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई एक हदसम्म अवज्ञा गर्ने दुई विकल्प बाँकी रहेको छ ।







एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै गौतमले पार्टीको उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको जानकारी दिए ।
त्यस्तै, बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने निष्कर्ष पनि निकालेको छ। गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । बैठकले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय र पदाधिकारी १५ जनाको हुने निर्णय गरेको जानकारी पनि गौतमले गराए ।




