अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समर्थनमा कैलालीको गोदावरी क्षेत्रमा ३ हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको छ।




रास्वपा निकट व्यवसायी रोम सापकोटाका अनुसार हाल अत्तरिया बजार केन्द्रित रूपमा हस्ताक्षर संकलन गरिएको छ भने अब अभियानलाई गाउँ-गाउँसम्म विस्तार गरिनेछ। उनका अनुसार देशभरमा हालसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेका छन्।







सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। रास्वपाले भने लामिछानेलाई राजनैतिक प्रतिशोध स्वरूप कारागारमा राखिएको दाबी गर्दै आएको छ। सोही प्रतिशोधविरुद्ध आवाज उठाउन भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको रास्वपाले जनाएको छ।
पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा असार ७ गते लामिछानेले जेलमै बसेर २० पृष्ठ लामो अपिल सार्वजनिक गरेका थिए। सो अपिलमार्फत नै उनले हस्ताक्षर अभियानको घोषणा गरेका थिए।
घोषणा अनुसार असार ९ गतेदेखि सुरु भएको हस्ताक्षर संकलन अभियानलाई कम्तीमा १०० दिनसम्म निरन्तर चलाइने रास्वपाले जनाएको छ।




