

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालयको रूपमा विकास गर्न सबै पक्षले संयुक्त रूपमा प्रयास गर्नुपर्ने बताएका छन् ।


मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औँ स्थापना दिवसको अवसरमा महेन्द्रनगर, कञ्चनपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले विश्वविद्यालय क्षेत्रीय आवश्यकता र सम्भावनाअनुसार केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।



कृषि, पर्यटन, धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका विषयमा अध्ययन–अध्यापन हुनुपर्छ,रोजगारी र उत्पादन बढाउने, हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजाने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
उनले सुदूरपश्चिम विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको र आवश्यक सहयोग दिन सरकार सधैँ तयार रहेको स्पष्ट पारेका छन् ।
कार्यक्रममा विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा दिइरहेका ४३ जना प्राध्यापक तथा कर्मचारीलाई दीर्घ सेवा पदक र प्रमाणपत्र प्रदान गरिएको छ । १६औँ वर्षमा प्रवेश गरेको सुदूरपश्चिम विश्वविद्यालयले आगामी दिनमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।





