डीडीसीको दुग्ध प्रशोधन केन्द्र अत्तरियामै रहने सम्भावना
अत्तरिया डीडीसीको भविष्य : निर्णय मन्त्रालयको हातमा
अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत निर्माणाधीन दुग्ध प्रशोधन केन्द्रलाई अत्तरियामै राख्ने प्रयास सफल हुने सम्भावना देखिएको छ । गोदावरी नगरपालिकाले प्रशोधन केन्द्रका लागि वैकल्पिक स्थानको प्रस्तावसहित संस्थानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै स्थानीयको मागले गति लिएको छ ।



गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका अनुसार नगर क्षेत्रभित्र तीन स्थानको प्रस्ताव गरिएको थियो । डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीले ती स्थानको स्थलगत निरीक्षणपछि तयार गरिएको प्रतिवेदन एक प्रति गोदावरी नगरपालिकालाई बुझाइएको जानकारी दिएका छन् ।


प्रतिवेदन अनुसार दुग्ध बिक्री केन्द्रको लागि वडा नं. १ मा रहेको वडा कार्यालय नजिकको स्थान उपयुक्त देखिएको छ भने प्रशोधन केन्द्रको लागि वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको जग्गा उपयुक्त ठहरिएको छ ।

नगरप्रमुख भट्टले आगामी आर्थिक वर्ष सुरु हुन लागेका बेला नक्सा तथा डिजाइन तयार पार्ने काम अगाडि बढाउने डीडीसीलाई सहयोग स्वरूप गोदावरी नगरपालिकाले फाउन्डेशनको काम गर्ने प्रतिबद्धता समेत जनाएका हुन् ।
यता डीडीसीका उपमहाप्रबन्धक अधिकारीले हाल अत्तरिया कार्यालयमा जारी तालाबन्दी खुलाउने, स्थलगत अवलोकन गर्ने र तयार प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेपछि मात्र प्रशोधन केन्द्रको अन्तिम निर्णय हुने बताए ।
यसअघि डीडीसीले गुपचुप रूपमा धनगढी उपमहानगरपालिका–१५ स्थित जडीबुटी प्रशोधन केन्द्रमा दुग्ध प्रशोधन केन्द्र सार्ने निर्णय गरेपछि स्थानीय तहमा विरोध चर्किएको थियो । यही विरोधस्वरूप स्थानीयले जेठ ८ गतेदेखि तालाबन्दी गर्दै ‘डीडीसी संरक्षण संघर्ष समिति’ गठन गरेका छन् र अत्तरियामै केन्द्र राख्नुपर्ने माग गर्दै आएका छन् ।
डीडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराईले पनि केही महिना अघि नगर कार्यालय पुगेर पत्र बुझाएका थिए र नगर प्रमुखले उपयुक्त सरकारी जग्गा देखाएको जनाइएको छ । डीडीसीको भविष्यको अवस्थिति अब मन्त्रालयमा पेश हुने प्रतिवेदनपछि मात्र स्पष्ट हुने छ, तर अत्तरियामै राख्ने प्रयासले पुनः बल पाएको देखिन्छ ।




