

अत्तरिया- गोदावरी नगरपालिकाको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अत्तरिया शाखाले इकाईगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगर रहि विभिन्न स्थानमा सेवा केन्द्र विस्तार गरी सेवा उपलब्ध गराउँदै आइरहेको संस्थाले अत्तरिया सेवा केन्द्रमा शनिबार २६ औं इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।


संस्थाका सञ्चालक समितिका उपाध्यक्ष निरञ्जनप्रसाद भट्टको सभापतित्वमा आयोजित सभामा प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।
सभाको प्रमुख अतिथि जोशीले सहकारीले आफ्ना सदस्यहरूलाई सरल तथा सहज तरिकाले सेवा सुविधा प्रदान गर्दै आइरहेको भन्दै प्रसंसा व्यक्त गरे । ‘सबैका लागि एक र एक का लागी सबै भन्नु नै सहकारी हो’ उनले भने । ‘स्थानीय स्तरमा छरिएर रहेको पूँजी, श्रम, सीपलाई केन्द्रित गरी सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहज गर्नु नै सहकारीको मुख्य उद्देश्य हो ।’
उनले एक अब्बल दर्जाको रूपमा उदयदेव बहुउद्देश्यीय सहकारी रहेको बताए । आफ्ना सदस्यहरूलाई विभिन्न क्रियाकलापमा सहभागी गराई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको साथै सदस्यहरूको लागी सुपथ मूल्य बीउ प्रशोधन केन्द्र, राइस मिल, कस्टम ह्ययरिङ लगायत कृषि प्रबद्र्ध्न केन्द्र सञ्चालन गर्दै आइरहेको बताए ।
उनले सहकारीले सदस्यहरूलाई बैंकिङ्ग सेवा सुविधा जस्तै सेवा उपलब्ध गराउँदै आएसंगै सहकारीले विभिन्न किसिमका उद्योगहरु समेत संचालन गर्दै आएकोमा बधाई समेत व्यक्त गरे । जोशीले संस्थालाई जिवन्त पार्न सबैले आ–आफ्नो तर्फबाट पूर्णरूपमा लाग्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सञ्चालक समितिका उपाध्यक्ष निरञ्जनप्रसाद भट्टले गरेका थिए । लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समिति सदस्य यज्ञराज पाण्डेयले गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष भट्टले संस्थाले स्थापना काल देखि नैं सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा सुधार ल्याई समय सापेक्ष संस्थालाई सदैव स्वस्थ र गतिशील बनाउन मुख्य उद्देश्य रहेको बताए ।

उनले २०५६ सालमा स्थापना भएको संस्थामा हाल २५ हजार ४० जना शेयर सदस्यहरू रहेकोमा संस्थाको शेयर पूँजी गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८१ मसान्त सम्ममा ९.१७ प्रतिशतले वृद्धि भई २० करोड ५८ लाख ६९ हजार १ सय पुर्याउन सफल भएको बताए ।
संस्थाले निक्षेप तर्फ यस वर्ष १ अर्ब ७८ करोड ७ लाख ४ हजार रुपैयाँ बराबरको बचत संकलन गरेको छ । जुन गत वर्षको तुलनामा १५.७८ प्रतिशतले वृद्धि भएको छ । यस्तै संस्थाले यस आर्थिक वर्ष ०८०/०८१ मा १ अर्ब ५१ करोड ९७ लाख ८९ हजार ऋणमा लगानी गरेको बताए ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मसान्त सम्ममा २ अर्ब ४६ करोड ३१ लाख ९७ हजार बराबरको आर्थिक कारोबार गरेको छ भने उक्त कारोबारबाट सम्पूर्ण खर्च कटाई ७ करोड १७ लाख ९८ हजार ४८३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
भट्टले संस्थाले कृषिमा आधुनिकीकरण गर्न नयाँ नयाँ–नयाँ टेक्नोलोजी प्रयोग गर्नका लागी कष्टम हायरिङ्ग सेन्टर तथा बीउ प्रशोधन केन्द्रको स्थापना गरेको बताए । जसबाट सर्व सुलभ रुपमा आधुनिक कृषि मेसीनरीहरुमा सदस्यहरूको पहुंँच पुगेको उनले बताए । संस्थाले राइस मिल सञ्चालनमा ल्याएसंगै सुपथ मूल्यमा चामल उपलब्ध गराउँदै आईरहेको बताए ।
संस्थाले संचालन गरेको कृषि कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वर्ष उत्कृष्ट अंक हासिल गरी जेटीए अध्ययन गर्न चाहने सदस्यहरु मध्येबाट ५ जना छोरा छोरीलाई कुल अध्ययन खर्चको ५० प्रतिशत संस्थाले व्यहोर्ने गरी छात्रवृत्ती वितरण गर्ने कार्यविधि बनाई कार्यान्वयन गरेको बताए ।
यस्तै संस्थामा आबद्ध सदस्यहरुले उत्पादन गरेको खाद्यान्नलाई उचित समर्थन मूल्यमा खरिद गरी ग्रेडिङ युक्त चामल सर्वसुलभ मूल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउन राइस मिल संचालनमा ल्याएको समेत बताए ।
२०७७ साल चैत महिना अत्तरियामा सेवा केन्द्रको रुपमा सञ्चालनमा आएको यस सेवा केन्द्रमा हाल १४ सय भन्दा बढि सदस्यहरू, आबद्ध रहेका छन् ।
संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत आफ्ना सदस्यहरूलाई जीवनस्तर उकास्न सहजतकलगी विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आइरहेको अत्तरिया शाखा प्रमुख सुरेन्द्र ऐरले बताए । उनले सहकारीलाई थप निरन्तर रुपमा अगाडि बढाउनको निम्ति सदस्यहरूको राय–सुझाव तथा विचार एकदमै महत्वपूर्ण रहेको बताए ।
सहकारी संस्था अत्तरिया सेवा केन्द्रका प्रमुख सुरेन्द्र ऐरले स्वागत मन्तव्य गरेको सभामा कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रीय कार्यालयका वरिष्ठ शाखा प्रबन्धक प्रकाश राज भट्टले गरेका थिए ।