धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ । खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो ।


मङ्गलवार उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण खाली गर्न सूचना जारी गरेको हो । खोलानालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचानाहरू हटाउन भन्दै उपमहानगरपालिकाले सूचना जारी गरेको छ ।



पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने काम समेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले खोलाको अधिकार क्षेत्र तथा सेटब्याक खाली गर्न वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृति खोलानालाहरूमा निर्माण गरिएका भौतिक संरचना कार्तिक मसान्त सम्म खाली गर्न सूचना जारी गरेको हो ।
उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र र सेटब्याक खाली गर्ने काम नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ ।





