बाजुरा- स्याउ खेतीको प्रबल सम्भावना भएको सुदूरपश्चिम प्रदेशको एक मात्र जिल्ला हो, बाजुरा । यति वेला जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ पान्डुसैनामा रहेको साहारा स्याउ फर्ममा लटरम्म स्याउ पाकेका छन् ।




तर, यातायातको व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन सकेका छैनन् । फलेका स्याउ बजारसम्म पुर्याउन नसक्दा झरेर कुहिन थालेका छन् ।


बुढीनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीमा करिब तीन हेक्टर जमिनमा ३० हजारभन्दा बढी बोट स्याउ लगाइएको छ । ती मध्ये २० देखि २५ हजार बोटमा स्याउ फल्न थालेको साहारा स्याउ फर्मका सञ्चालक उज्जल रावतले बताए । यहाँ उत्पादन गरेको स्याउ बिक्रीका लागि स्थानीय बजार कोल्टी, मार्तडी पिलुचौर लगायतका विभिन्न स्थानमा लैजाने गरिएको छ । तर, यति वेला भने स्थानीय बजार सम्म पुर्याउनका लागि सडकको व्यवस्था नहुँदा समस्या भएको छ ।
मार्तडी कोल्टी राजमार्ग असारको पहिलो साता देखि अविरल वर्षाका कारण अवरुद्ध छ । सडक अवरुद्ध हुँदा बारीमा फलेका स्याउ बजार सम्म पुर्याउन नपाएको रावतले गुनासो गरे । मार्तडी-कोल्टी राजमार्गमा यातायात सञ्चालन नहुँदा स्याउ बजारसम्म लैजान नसकिएको उनको भनाइ छ । वर्षाले अवरुद्ध भएको मार्तडी-कोल्टी राजमार्ग र कर्णाली करिडोर अहिले सम्म सञ्चालन हुन सकेको छैन ।

