दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं : गृहमन्त्री खाण




काठमाडौं, १८ साउन- गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट महाकाली नदी पार गर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने बताएका छन् । गृहमन्त्री खाणले सोमबार राष्ट्रिय सभा बैठकमा समसामयिक विषयबारे बोल्न क्रममा यस्तो बताएका हुन् ।



भारतीय सुरक्षा बल एसएसबीले गत शुक्रबार बिहान तुइनको डोरी काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताईरहेका छन् । एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन समेत परेको छ ।


यसबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली बनाएको र छानबिन टोली सोमबार (आज) धनगढी पुगिसकेको गृहमन्त्री खाणले बताए ।
सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन १० दिनको समय दिइएको उनको भनाइ छ । दार्चुला हुँदै घटनास्थल मालघाट पुग्न यातायातको समस्या परेमा गृह मन्त्रालयले हेलिकप्टरको व्यवस्थापन गर्ने पनि खाणले बताए । उनले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटे वा नकाटेबारे केही उल्लेख गरेका थिएनन् ।



