आजदेखि बडादशैं सुरु, बिहान ११:४७ बजे घटस्थापनाको साइत

काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो। सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले बताए।

Navadurga sun

सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारे।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लासका साथ मनाउने गरिन्छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी पूजा आराधना गरिन्छ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा पवित्र स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ। जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले विजयादशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गर्ने चलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जौको जमरा राख्ने व्यवस्था छ। कतिपयले गहुँ र मकैको जमरा राख्ने गरे पनि जौबाहेक अन्य अन्नको जमरा राख्ने शास्त्रीय विधि नरहेको उनको भनाइ छ।

नवरात्रभर दुर्गाका नौ रूपको पूजा

घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। यस अवधिमा देवी दुर्गाका नौ रूपको विधिपूर्वक पूजा आराधना गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

बडादशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन दशैं घर, कोत तथा शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ। बलि दिने परम्परा भएका स्थानमा धार्मिक विधिअनुसार बलिसहित पूजा गर्ने चलन पनि छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र र स्तुतिहरूको पाठ गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली र मैतीदेवीसहित देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजा आराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ।

असत्यमाथि सत्यको विजयको प्रतीक दशैं

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यो पर्वले अन्यायमाथि न्याय, अन्धकारमाथि उज्यालो र नकारात्मक शक्तिमाथि सकारात्मक शक्तिको विजयको सन्देश दिन्छ।

कात्तिक ४ गते विजयादशमीको टीका

यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटका लागि निर्धारण गरेको छ।

घटस्थापनासँगै सुरु भएको बडादशैं आगामी विजयादशमीसम्म धार्मिक विधि, पारिवारिक जमघट, दुर्गा पूजा, टीका र जमरा ग्रहण गर्दै उल्लासपूर्वक मनाइनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...