बैतडी- बैतडीको सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरू काम्ने समस्याका कारण विद्यालयको वातावरण प्रभावित भइरहेको विद्यालयले जनाएका छ ।




विगत लामो समयदेखि दिउँसोको समयमा एक्कासि काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिएको शिक्षकहरूले बताएका छन् । आइतबार पनि पाँच जना किशोरीहरूमा यस्तो समस्या देखिएको र एक किशोरी सामान्य घाइते भएको समेत विद्यालयका सूचना अधिकारी अमर सिंह धामीले जानकारी दिएका छन् । यसले पढाईमा बाधा पुगेको उनले बताए ।


‘यस विद्यालयमा यस्तो लक्षण करिब एक दर्जन किशोरीहरूमा समस्या रहेको र यसले विद्यालयको वातावरण प्रभाव परेको छ । सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले यस्तो समस्या विद्यालयमा मात्रै नभई गाउँमा पनि समस्या देखिएको बताएका छन् । यहाँका अधिकांश विद्यालयहरूमा यस्तो समस्या रहेको र यो समस्या समाधानको लागि आवश्यक चिकित्सकीय परामर्शको कार्यक्रम सञ्चालनका लागि पालिकाले पहल चालिरहेको बताएका छन् ।




