अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सफा भए घर आँगन सुरक्षित भए पानी निरोगी र स्वास्थ्य हुन्छ हाम्रो जिन्दगानी भन्ने नाराका साथ बिहीबार संस्थाकै प्राङ्गणमा संस्थाले १५ औं साधारण सभा सम्पन्न गरेको हो ।





संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथिमा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया, भौतिक विकास तथा पूर्वाधार मन्त्रालयका सचिव सुरत बम, संस्थाका सल्लाहकार समिति संयोजक उत्तम कठायत, अधिवक्ता प्रयागदत्त भट्ट रहेका थिए ।
त्यस्तै नगर प्रवत्ता गोपालदत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सचिव पुष्पराज चटौतले गरे भने संस्थाकी कार्यसमिति सदस्य कुन्ती पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरिन् ।

साधारण सभामा प्रमुख अतिथि रहनु भएको भट्टले देश अप्ठ्यारोमा छ आर्थिक मन्दीको कारणले बजेट घटेर आएको छ यद्यपि नगर विकासको लागि कार्यहरू गरिरहेकै छौ । वक्ता धनराज जोशीले भनेका आर्थिक कारणले गर्दा धारा जडान गर्न नसकी गरिबहरूले स्वच्छ खानेपानीबाट बञ्चित हुनुपरेको छ । भन्ने कुरा सत्य हो । तर उनले यस्ता व्यक्तिहरूका समस्याहरुलाई नगरसम्म पुर्याइदिए सुनमा सुगन्ध हुन्थ्यो । गरिब उपभोक्ताहरूले नगरपालिका सम्म आफ्नो समस्या राख्नुपर्छ । अन्यथा हामीहरूले यस्ता समस्या समाधान गर्न सक्दैनौँ ।
खानेपानी सल्लाहकार समिति संयोजक उत्तम कठायतले आफ्नो अमूल्य सहयोगबाट यो संस्थाको जन्म दिएका हुन अहिले १० लाख सहयोग नगरपालिकाले खानेपानीलाई दिएको छ । यो रकमले पनि केही राहत दिन्छ होला जलवायु परिवर्तनको समस्या चुनौती बनेको छ । स्थानीय सरकार खानेपानीको विकासको लागि सदैव तयार रहनेछ ।


उत्तम कठायतले देशभरिकै उत्कृष्ट खानेपानी मध्ये अत्तरिया साना खानेपानी भएकाले हामीहरूले यसलाई अझै अघि बढाउँदै जानु पर्ने देखिन्छ पानीका मूलहरू सुकिरहेका छन् । हामीहरूले चनाखो हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकादत्त जोशीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यसमितिको तर्फबाट कोषाध्यक्ष लक्ष्मण बहादुर कठायतले वार्षिक प्रतिवेदन पेश गरे ।

यस्तै विशिष्ट अतिथि शारदादेवी रोकाले पैसाकै अभावले जनतालाई पानीबाट वञ्चित गर्न नहुने टोल प्रमुखले खानेपानीको पैसाको अभावले धारा जोड्न नसक्नेहरूको सूची दिनुपर्छ । गोदावरीका केही क्षेत्रहरूमा ह्यान्ड पम्प जाँदैन । गए पनि रातोपानी हुन्छ । तिनीहरूको लागि व्यवस्था गर्नुपर्नेछ । नगरपालिकाको स्रोत र साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संस्थाले उक्त आर्थिक वर्षसम्म १ करोड ५३ लाख ८९ हजार ९६६.९७ रुपैयाँ बचत गर्न सफल भएको संस्थाको वार्षिक प्रगति प्रतिवेदनको वासलातमा उल्लेख गरिएको छ । जसमा १४ करोड १५ लाख ६० हजार २५४ रुपैयाँ आर्थिक कारोबार भएको देखिन्छ, यस पाली १५ करोड ३२ लाख ४४ हजार ९२३ रुपैयाँको कारोबार भएको देखिन्छ ।
उक्त खानेपानी तथा सरसफाई संस्था २०८१ साल वैशाख बाट २० वर्ष पूरा गरी सफलताका साथ एक्काइसौँ वर्षमा प्रवेश गरेको थियो । आब २०८०/०८१ को स्वीकृत बजेट ४ करोड १५ लाख ८५ हजार ९ सय ९ रहेकोमा यथार्थ आम्दानी २०८०/०८१ को २ करोड ८३ लाख ३५ हजार ७ सय ८५ पैसा ८८ र अब २०८१/०८२ को अनुमानित बजेट ४ करोड ६४ लाख ४२ हजार ८ सय १ रहेको छ । यस खानेपानीको हालको उपभोक्ता संख्या ५ हजार ६४ र लाभान्वित जनसंख्या २५ हजार १ सय ९० रहेको छ ।





