कैलालीमा पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

कैलाली- बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए। उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताए । स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गरे ।

Dadeldhura hospital

उनले वर्षौँदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताए। ‘वर्षौँदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ । महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ ।’ स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बनेका छन् । घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बनेका हुन् । पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् ।

सत्तरी लाख ४९ हजार ९ सय २२ रुपैयाँ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको २४ लाख रुपैयाँ लगानी छ। त्यसमा राष्ट्रिय दलित नेटवर्कले २१ लाख २९ हजार ६ सय रुपैयाँ लगानी गर्दा २५ लाख ३० हजार ३ सय २२ रुपैयाँ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताए । ‘प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ’, उनी भन्छन्, ‘खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ।’

परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताए । रासस

Loading...