सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।




चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन/तीन जना मन्त्री नियुक्त गरे ।


माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गा बहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रणसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री मध्ये महेन्द्र केसी, वीर बहादुर शाही, दुर्गा रावत र शेर बहादुर बुढाले शपथ लिइसकेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमालेका विनोद शाह भने शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । राज्यमन्त्री गमता विकलाई मुख्यमन्त्री कँडेलले शपथ ग्रहण गराएका छन् ।




