अत्तरिया- सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेलाई लाभ पुगेको छ । बझाङमा शनिबार सम्पन्न उपनिर्वाचन बाट एमालेका उम्मेदवार दमन बहादुर भण्डारी विजय भएपछि प्रदेश सभामा सो पार्टीलाई लाभ पुगेको हो । बझाङ प्रदेश सभा–१ मा एमालेका भण्डारी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।



२०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन् । कांग्रेसले भने सिट संख्या गुमाएको छ । अन्तिम मत परिणाम अनुसार एमालेका दमन बहादुर भण्डारीले ११ हजार ६ सय १३ मतले विजयी भएका छन् ।


उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । मत गणना सुरु भएदेखि नै यी दुई उम्मेदवार बिच कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले भने २ हजार ५ सय १३ मत मात्र प्राप्त गरेका छन् ।

विभिन्न ११ दलबाट ११ जना उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो । २०२४ साल जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका नवनिर्वाचित उम्मेदवार भण्डारीले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भण्डारीले बीएल गरेपछि बझाङ फर्किएर सामाजिक काममा संलग्न भएका थिए ।
भण्डारी २०५४ सालमा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता पार्टीको राजनीतिमा संलग्न उनले कुनै पनि संसदीय पदको जिम्मेवारी पाएका थिएनन् । २०५५ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी २०६२ सालमा राष्ट्रिय युवा संघ नेपालको अञ्चल कमिटी सचिव भएका थिए ।
२०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशन बाट एमाले जिल्ला सचिव हुँदै भण्डारी हाल बझाङ एमाले अध्यक्षको जिम्मेवारीमा छन् । तत्कालीन प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि शनिबार रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।
कांग्रेसका उम्मेदवार अभिषेक सिंह पूर्वसांसद पृथ्वी बहादुर सिंहका छोरा हुन् । गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका पृथ्वी सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत प्राप्त गरेर पराजित भएका थिए ।




