सीमा समस्याको समाधान कूटनीतिक तवरबाट गरिनुपर्छ : मुख्यमन्त्री भट्ट





धनगढी, ९ साउन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएका छन्। बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको उनले बताए।


मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्दै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताए। बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उनले उल्लेख गरे।



यसैबीच, शनिबारै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे।
“म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्,” उनले भने, “विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन्। आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ।”
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताएका थिए। मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले आज बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ।



