गोदावरी नगरपालिका वडा नं.९ को नव निर्मित वडा कार्यालयको उद्घाटन





अत्तरिया, ८ साउन- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख हरि सिंह साउँदले रिवन काटेर र व्यानर अनावरण गरेर उद्धघाटन गरेका हुन् ।





उक्त कार्यक्रमको वडा नं. ९ का वडा अध्यक्ष लहानु चौधरीको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद रहेका थिए भने विशिष्ट अतिथी नगर उप-प्रमुख रत्ना कडायत रहेकी थिईन् ।
त्यसैगरी कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष कृष्णराज जोशी, वडा नं. ८ का वडा अध्यक्ष नरशे बहादुर अधिकारी, वडाका जनप्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानिय, बुद्धिजिबी लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले नगरपालिकामा पिछडिएको वडाको रुपमा रहेको ९ नम्बर वडामा पछिल्लो समयमा बिभिन्न खालका बिकास निर्माणका कार्यहरु भएको बताए । उनले वडाको भवन धेरै समय पछि निर्माण सम्पन्न भएको बताए । क्षेत्रफलका हिसाबमा कैलाली जिल्लामै दोस्रो नम्बरमा रहेको गोदावरी नगरपालिकामा पछिल्लो समयमा धेरै कामहरु भएको नगरप्रमुख साउँदले बताए ।
त्यसैगरी कार्यक्रममा मन्तव्य दिने क्रममा उप-प्रमुख रत्ना कडायतले नगरमा दुई ओटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भईसकेकोे र बाँकि रहेका वडाहरुमा पनि चाडै वडा कार्यालयका भवनहरु बनाउने बताईन् । सबै एकजुट भएर अगाडी बढ्यौ भने नगरमा हरेक बिकास निर्माणका कार्यहरु गर्न सहज हुने उनले बताईन् ।
त्यसैगरी वडा नम्बर ९ का वडा अध्यक्ष चौधरीले सबैको साथ र सहयोगमा वडाका हरेक कार्यहरु गर्न सफल भएको बताए । यसभन्दा अभि हामीहरुलाई भाडामा रहेको सानो भवनबाट वडाका कामकाजहरु गर्न निकै असहजता महशुस भइरहेको थियो । अब आफ्नै वडाको भवन निर्माण भयो, आफ्नै वडाको भवनबाट सेवाग्राहीहरुलाई सहजै रुपमा सेवा दिन र काम गर्न सकिने बताए ।
भवन निर्माणका लागि २०७५ फागुनमा सम्झौता भएको थियो भने २०७७ फागुनमा सम्पन्न गरेको भवन निर्माणमा ९२ लाख ५८ हजार लागत लागेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । वडा कार्यालयको भवन निर्माणका लागि महिला विकास समुह शिशु स्याहार केन्द्रले जग्गा उपलब्ध गराएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य होलुराम डगौराले गरेका थिए भने कार्यक्रमको सञ्चालन उद्धबराज भट्टराईले गरेका थिए ।



