दार्चुलामा मतदाता नामावली अद्यावधिक सुरु




दार्चुला, ५ साउन- जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । कार्यालयले यहाँका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाहरुमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।



कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम सुरु गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिए । जिल्लाका कूल मतदाता संख्या ७८ हजार ५सय १३ जना रहेको कार्यालयले जनाएको छ ।


अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिर्वतन, श्रीमान्, श्रीमतीको नाम परिर्वतन गर्नुपर्ने तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह समेत गरेको छ ।



