देउवालाई साँझ ५ बजे सपथ ग्रहण गराउने राष्ट्रपतिको तयारी




काठमाण्डौं, २९ असार– सर्वोच्चको परमादेश बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजे सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ।



राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने छिन्। त्यस लगत्तै देउवालाई साँझ ५ बजे प्रधानमन्त्रीको सपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओली आज मध्यान्हसम्म बालकोट फर्किसक्ने र देउवाले आजै अपरान्ह प्रधानमन्त्रीका रुपमा सपथ गर्ने भएका बताइएको छ।


पाचौंपटक प्रधानमन्त्री बन्न लागेका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ। देउवाले गठन गर्ने सानो आकारको मन्त्रिमण्डलमा अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी गरेको कांग्रेस उच्च स्रोतले बताएको छ। कार्की यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् भने खाण प्रतिनिधिसभाका मुख्य सचेतक हुन्। उनी देउवा निकट हुन्।
स्वास्थ्यमा गगन थापालाई ल्याउने तयारी छ। थापाले यसअघि पनि स्वास्थ्यमन्त्री भएका थिए र राम्रो काम गरेर चर्चा कमाएका थिए। माओवादीले गृह मन्त्रालय पाउने भएको छ। गृहमा जनार्दन शर्माको चर्चा छ। शर्मा पनि गृहमन्त्री भइसकेका व्यक्ति हुन्। परराष्ट्र जसपाको भागमा परेको छ। उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने देखिएको छ। यद्यपि, जसपा छलफलकै क्रममा छ। सरकारमा सहभागी हुने र नाम दिने विषयमा सम्बन्धित दलहरुले औपचारिक निर्णय गर्न भने बाँकी नै छ ।



