बैतडी- बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा आजमा महारुद्र युवा क्लब विजयी भएको छ। महारुद्रले पहिलो जित दर्ता गर्ने क्रममा ग्वाल्लेक क्रिकेट क्लबलाई ४ विकेटले हरायो। यो हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको छ। महारुद्रको भने सेमिफाइनलको सम्भावना कायमै छ।



ग्वाल्लेकले दिएको ११२ रनको झिनो लक्ष्य महारुद्रले १६.४ ओभरमा ६ विकेटको क्षतिमा भेटायो। जसमा सौरभ चन्दले अविजित ३६ र सुरजसिंह भाटले ३६ रनको योगदान गरे। ग्वाल्लेकका हेमराज जोशीले ३ र तर्कराज जोशीले २ विकेट लिए।



त्यसअघि दशरथचन्द क्रिकेट मैदान‚ सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको ग्वाल्लेक २६.४ ओभरमा १११ रनमा समेटियो। उसका यज्ञराज जोशीले २३ र पंकज जोशीले २२ रन बनाए। महारुद्रका मनोज ऐरी एक्लैले ६ विकेट हात पारे। मनोज खेलका म्यान अफ द म्याच पनि चुनिएका स्कोरर गजेन्द्र चन्दले जानकारी दिए।
यसअघि समूह ‘ए’बाट एनआरवाइसी बठ्ठा र समूह ‘बी’बाट निङलाशैनी क्रिकेट क्लब सेमिफाइनलमा पुगिसकेको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरु भएको प्रतियोगितामा १३ टोली सहभागी हुनेछन्। प्रतियोगितामा सहभागी १३ टोलीलाई चार समूहमा विभाजन गरी खेल भइरहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।
यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनोटका रूपमा समेत लिइएको छ। यो वर्ष बिडिसिए कप वान डे फर्म्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगतका वर्षमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो।




