धनगढी– धनगढी उपमहानपालिका–५ बस्ने आरजु स्वार (सेठी) विरुद्ध धनगढीकै चन्द्रादेवी बोहराले २०७५ सालमा २२ लाखको चेक अनादर मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता गरिन् । आरजुबाट आफूले लिनुपर्ने २२ लाख रुपैयाँका दुई वटा (१० र १२ लाख) का चेक दिएपनि खातामा पैँसा नरहेको भन्दै बाउन्स गराएर चेक अनादर मुद्दा दर्ता गराएकी थिइन् ।




तर आरजुले बोहरासँग कुनै लेनदेन नभएको र चेक समेत नदिएको दाबी अदालतमा गरेकी थिइन् । बोहरा र आफ्नो पसलसँगै भएकाले चोरी गरेर चेक लगेको दाबी उनको छ । अदालतमा पटक–पटक भएको बयानका क्रममा आरजुले इन्कारी बयान दिएको देखिन्छ तर उनीविरुद्ध मुद्दा दायर गर्ने बोहराले अदालतको तारेख गुजारेकी थिइन् ।





जिल्ला अदालतले बोहराले आरजुविरुद्ध हालेको मुद्दा २५ साउन २०७७ मा खारेज गरिदिएको छ । तत्कालीन न्यायाधिश जयानन्द पनेरुले चेक अनादर मुद्दा दायर गर्ने बोहराले २२ मंसिर २०७६ देखि १९ फागुन २०७६ सम्म तारेख गुजारेको उल्लेख गरेका छन् । ७ चैत २०७६ अघि नै मुद्दाको म्याद समाप्त भइसकेको भन्दै न्यायाधिशले उक्त मुद्दा खारेज गरिदिएका थिए । बोहराले नै म्याद गुजारेपछि अदालतबाट २२ लाख चेक अनादर मुद्दा खारेज भएपछि उनैले आरजु स्वारविरुद्ध ८५ लाखको मुद्दा दायर गरेकी थिइन् ।


२९ भदौ २०७७ मा आरजुविरुद्ध दायर गरेको ८५ लाखको चेक अनादर मुद्दामा जिल्ला अदालतले १६ जेठ २०७९ मा बोहराको पक्षमा फैसला सुनाएको छ । ‘चेकमा उल्लेख गरिएको ८५ लाख बराबरको रकम र सो भरिभराउ हुँदासम्मको वार्षिक १० प्रतिशतका दरले प्रतिवादीबाट भराई पाउने ठर्हछ,’ अदालतको फैसलामा भनिएको छ ।
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत दिपायलमा पुनरावेदन गरेकी प्रतिवादी आरजु स्वारले आफूले अनावश्यक दुःख भोग्नुपरेको गुनासो गरेकी छन् । ‘बोहरासँग मैले कुनै कारोबार गरेको थिएन । मेरो पसलबाट चेक चोरी गरेर आफै हस्ताक्षर गरी चेक काटेर उल्टै मेराविरुद्ध मुद्दा हालिन्,’ आरजुले भनिन्, ‘२२ लाखको झुठो मुद्दा हालेर अदालत तारेख पनि बुझिनन् । अदालतले मेरो पक्षमा फैसला गरेको थियो । अहिले फेरी ८५ लाखको झुठो मुद्दा हालेर दुःख दिदैछन् ।’
जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत पुगेकी आरजुले उक्त निर्णय उच्चले सच्याउनेमा आशावादी रहेको बताइन् । आरजुको दाबीअनुसार बैँकबाट २०७४ सालमा लिइएको चेक चोरी गरेर बोहराले २०७३ सालको मिति राखेर काटेकी थिइन् । तर आरजुविरुद्ध २२ लाखको मुद्दा खारेज भएपछि ८५ लाखको चेक अनादर मुद्दा हालेकी चन्द्रादेवी बोहराले भने उनको दाबीमा सत्यता नभएको जिकिर गरेकी छन् । आरजुलाई आफूले ऋणमा पैँसा दिएको तर फिर्ता गर्नुको सट्टा पैँसा नभएको चेक दिएपछि अदालतलाई गुहारेको बताउँछिन् ।
२२ लाखको चेकको मुद्दा मैले हारेको होइन् । पैँसा दिन्छु भनेपछि छाडिदिएको हो, बोहराले भनिन्, अहिले अदालतमा मुद्दा चलिरहेको छ । बोहराले आरजुलाई एक करोड ८ लाख रुपैयाँ सापटी दिएको दाबी समेत गरेकी छन् । आफूले चेक चोरी गरेको आरोप समेत गलत भएको उनले बताइन् । (प्रेसपत्रबाट)




