धनगढी- धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजनको कामपछि शिक्षक दरबन्दी मिलानको काम पनि सम्पन्न भएको छ । यहि साउन महिनादेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरिएको थियो ।



विद्यार्थी सङ्ख्या न्यून रहेका विभिन्न १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरेको उपमहानगरले मङ्सिरमा दरबन्दी समायोजन गरेको हो । १४ वटा विद्यालयको तह र कक्षा समायोजन गरेको उपमहानगरपालिकाले ७५ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।



बाल विकासका र प्राथमिक तहमा २९/२९ जना, निम्नमाध्यमिक तहमा ११ र माध्यमिक तहमा ६ जना शिक्षक दरबन्दी मिलानमा परेका उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए ।
त्यस्तै, ४ जना विद्यालय सहयोगीको पनि दरबन्दी मिलान गरिएको छ । सामुदायिक विद्यालयको सुधारका लागि यो वर्षबाट धनगढीमा नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू भएको छ ।
जस अन्तर्गत ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई नमूना विद्यालय बनाउने योजना अगाडि बढेको महाशाखा प्रमुख खातीले जानकारी दिए । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरी शिक्षकहरूको पदस्थापन समेत भइसकेको उनले बताए । उपमहानगरले विभिन्न सहयोगी संस्थासँगको साझेदारीमा सामुदायिक विद्यालय सुधारको योजना समेत अगाडि बढाएको छ ।




