धनगढी- तराईबासीले मनाउने महान पर्व छठ पर्व मनाउन मोहना नदी किनारमा तयारी गरिएको छ । तयारी समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढीको मोहना नदीघाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रामस्थलको निर्माण गरिएको छ ।




शनिबारदेखि मोहनाघाटलाई शृङ्गार्न थालिएको हो । कैलाली भन्सारदेखि झण्डै एक किलोमिटर दूरीसम्म मोहना नदीको क्षेत्रलाई शृङ्गारिएको छ । तयारी समितिका अध्यक्ष मण्डलले मोहनाघाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्नेक्रममा रहेको बताए । यस पटक एक लाख बढीले मेला भर्ने अपेक्षा गरिएको छ ।


आज साँझ अस्ताउँदो सूर्य र भोली सोमबार विहान उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजा आराधना गरी छठ पर्व मनाउने गरिन्छ । आज रातभर २६० छटढालामा बसेका पाँच हजारभन्दा बढी श्रद्धालुले भोलि सोमबार विहान सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ ।
छठ पूजाको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्न भएका छन् । छठ पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहनाघाटमा पूजा कार्यक्रम हुँदै आएको छ । छठ पूजाको तयारीका लागि १५ लाख रुपियाँ खर्च हुने अनुमान आयोजकहरुले गरेको छ ।




