भागरथी हत्या प्रकरण : दिनेश माथि चौथो तथा अन्तिम पटक म्याद थप





बैतडी- किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको हो । बुधबार जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप ५ दिनका लागि अनुमति मागेको छ ।



गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो। पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी छ । दिनेश माथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप लागेको स्विकारिसकेका छन् ।


अनुसन्धानका लागि प्रहरीले फागुन ५ पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथो पटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।



