गड्डाचौकी होल्डिङ्ग सेन्टरलाई खाद्यान्नको व्यवस्था
कञ्चनपुर, ७ असार- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण भारतबाट स्वदेश फर्किने आप्रवासी नेपालीहरूका लागि कञ्चनपुरको पश्चिमी सीमा नाकामा दोस्रो लहरको कोरानाले मानव जनजीवन प्रभावित बनाएको यो विषम परिस्थितिको बेला कञ्चनपुर जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकीमा होल्डिङ्ग सेन्टर सञ्चालन गरिएको छ ।




भीमदत्त नगरपालिका तथा निड्स नेपाल सहितका केही गैरसरकारी संघसंस्थाहरुको समन्वय र सहकार्यमा नेपाली सेनाको टोलीले बनाएको होल्डिङ्ग सेन्टरमा आउने आप्रवासी नेपालीहरूका लागि विभिन्न संघसंस्थाले हेल्प डेस्क, खाद्यान्न, फलफूल, पानी लगायतको व्यवस्था गर्ने गरेका छन् ।


पश्चिमी सीमा नाका गड्डाचौकीमा निर्माण गरिएको होल्डिङ्ग सेन्टरमा आउने आप्रवासी नेपालीहरूको सहयोगार्थ विभिन्न संघसंस्थाहरु सक्रिय रहेका छन् । यसैबिच, कारितास अस्ट्रेलिया र कारितास नेपालको आर्थिक सहयोग तथा निड्स नेपालको सहकार्यमा भारतबाट उक्त नाका भएर नेपाल आउने आप्रवासी नेपालीहरूलाई गड्डाचौकी होल्डिङ्ग सेन्टरमा खाद्यान्नको व्यवस्था गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
लामो दुरीको कष्टकर यात्रासँगै खाद्यान्नको समेत अभाव भइरहेको समयमा खाद्यान्न सहयोग गर्ने संघसंस्थाहरु प्रति प्रवासी नेपालीहरूले आभार व्यक्त गरेका छन् । कोभिड महामारीको विषम परिस्थितिमा सीमा क्षेत्रमै बनाइएको होल्डिङ्ग सेन्टर र स्वास्थ्य चेकजाँच सेवाले समेत आप्रवासी नेपालीहरू सन्तुष्ट देखिन्छन् ।




