धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधन भएको छ । २०७६ सालदेखि कृष्णपुरको पशु विकास शाखामा कार्यरत बोहराको बिहीबार बिहान निधन भएको हो ।




उनको बिहान एक्कासि घरमै बसेको बेला निधन भएको नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक पदम सिंह ठगुन्नाले बताएका छन् । बोहरा कृष्णपुर नगरपालिका– ४ मा बस्दै आएका थिए । उनले २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । यसैबिच बोहराको निधन भएको शोकमा नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टद्वारा जारी गरिएको सूचनामा शुक्रवार नगरपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरूमा शोक बिदा दिने निर्णय भएको उल्लेख छ । सूचनामा नगरपालिकामा कार्यरत एक इमान्दार र कर्मठ कर्मचारीको देहावसानले कार्यालयलाई अपूरणीय क्षति भएको उल्लेख गरिएको छ ।




