जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दा समेत बन्न सकेन डम्पिङ साईड





अत्तरिया, ७ असार- डम्पिङ साईड अर्थात फोहोर फाल्ने ठाउँ बन्न सकेकाे छैन। कैलालीको गोदावरी नगरपालिकामा एक ब्यबस्थित फोहोर फाल्ने ठाउँ फोहोरमैला ब्यबस्थापन केन्द्र निर्माणको लामो समय देखी चर्चा चलिरहेकाे भएपनि अहिले सम्म कुनै पनि पूर्वाधार लगायत निर्माणकाे काम अघि बढ्न सकेको छैन ।


एसियाली विकास बैंकको ऋण अनुदानमा क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने भनेका ब्यवस्थित फोहोरमैला ब्यबस्थापन केन्द्रका लागि सुरुमा जग्गा पाउन समेत मुस्किल भएको थियो ।


तर पछि गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको चौकिडाँडा स्थित गोदावरी नदी नजिकै चौकिडाँडा महिला सामुदायिक वनले आफ्ना केही सर्तहरु राखेर जग्गा दिने सहमति गरेको भएपनि अहिले सम्म पूर्वाधार निर्माणका कुनै पनि कामहरु अगाडी बढ्न नसकेको हाे । जसले गर्दा नगरभित्रको फाहोरमैला ब्यबस्थापन गर्न पनि चुनौती झन-झन थपिदै गएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको झण्डै ३ बर्ष पुग्नै लाग्दा पनि नगरपालिकाले कुनै चासो नदेखाउदा फोहोरमैला ब्यबस्थापनका लागि आवश्यक पर्ने संरचनाहरु निर्माणको काम अगाडी बढ्न नसकेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको प्रमुख ब्यापारिक केन्द्र अत्तरिया क्षेत्र आसपास पछिल्लो समयमा नयाँ नयाँ उधोगधन्दा, कलकारखाना, बिभिन्न खाले पसलहरु स्थापना हुनुका साथै जनघनत्वपनि बढ्दै जान थालेको छ । यद्धपी गोदावरी नगरपालिकाले नगरभित्र ब्यबस्थित डम्पिङ साईड बनाउन नसक्दा समस्या हुन थालेको हो ।
अहिले गाँउघर तथा बजार क्षेत्रवाट निस्कने फोहोरलाई नगरपालिकाको ट्याक्टर मार्फत डम्पिङ साईड बन्ने भनिएको गोदावरी खोलाको किनारमा अस्तब्यस्त जथाभावी रुपमा फाल्ने गरिएको छ । ब्यबस्थित डम्पिङ साईड नबन्दा त्यसठाउँमा दुर्गन्ध फैलिदै गएको छ ।
५ बर्षका लागि निर्वाचित भएका स्थानिय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन १ बर्ष मात्रै बाकिँ रहेकाे छ । यस तर्फ गोदावरी नगरपलिकाका जनप्रतिनिधिहरुको खासै ध्यान जान नसकेको नगरबासीहरु बताउने गर्छन। बर्षातको समयमा त्यस ठाउँमा फोहोर मैलाको ब्यवस्थापन गर्न झन ठूलाे कठिनाइ हुदै आएको छ ।
यस बिषयमा गोदावरी नगरपालिकमा बुझ्दा कागजी प्रकृया लामो हुदाँ समय लाग्ने गरेको बताइएको छ । गोदावरी नगरपलिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले सो ठाउँको वातावरणिय प्रभाव मूल्याङकन ईआई स्विकृत भएर आएको बताए । उनले ईआई स्विकृत भैसकेकाले बाकिँ पूर्वाधारण निर्माणको कामलाई अगाडी बढाउनका लागि छिट्टै टेण्डर प्रकृयामा जाने बताए ।
कहिले सम्म टेण्डर हुन्छ भन्ने प्रश्नमा उनले अबको दुई चार दिन भित्र टेण्डर गर्ने गरी तयारी भैरहेको बताएका छन् ।
२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ । उक्त ऐनका प्रावधान अनुसार हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही गरिने व्यवस्था समेत रहेको छ ।



