दार्चुला- चीनसँगका स्थानीय नाका लामो समयदेखि ठप्प हुँदा हिमाली भेगका नागरिक मारमा परेका छन् । स्थानीयले आफ्ना उत्पादन निर्यात गर्नेदेखि चिनियाँ बजारबाट खाद्यान्नलगायत अत्यावश्यक सामान आयात गर्न पाएका छैनन् । बझाङको उरै र दार्चुला जोड्ने ताक्लाकोट नाका कोभिडयता चार वर्षदेखि बन्द छन् । यी नाका उत्तरी क्षेत्रका नागरिकका लाइफलाइन हुन् ।



ताक्लाकोटका पसलमा ताला लगाएर आएका दार्चुलावासी फर्केर तिब्बती बजार जान आतुर छन् । चार वर्षअघि ०७६ चैतमा कोभिड– १९ महामारीका कारण ताक्लाकोट नाका र त्यहाँको बजार बन्द भएपछि नेपाली व्यवसायी घर फर्किएका थिए । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ)मा सन् १९९६ देखि व्यापार थालेका व्याँस गाउँपालिका– १ छाँगरूका योगेशसिंह बोहोरा पनि कोभिड– १९ संक्रमणपछि त्यहाँ जान पाएका छैनन् ।


हिउँ कम हुँदा वर्षको ६ महिना सीमावर्ती बजार ताक्लाकोटमा बसेर व्यापार गर्दै आएका व्याँसवासीले यसबीचमा आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । नेपालबाट तिब्बत गई व्यापार गर्ने दार्चुलाका व्यवसायीलाई पसलका सामानसँगै आफ्नो पुँजी फसेकोमा चिन्ता छ । तर, अहिले नाका खुल्ने चर्चासँगै छाँगरू–तिंकरका व्यवसायी ताक्लाकोट जाने चाँजोपाँजो मिलाउन थालेका छन् । यहाँ झन्डै ८० भन्दा बढी पसल थिए ।
बर्सेनि हिउँदयाम छल्दै तिंकर नाकापारि ताक्लाकोट गएर व्यापार–व्यवसाय चलाउने दार्चुलाका ४० परिवारभन्दा बढी नेपालीको त्यहाँ पुस्तौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्ध छ । व्याँस गाउँपालिकाको नेतृत्वमा केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी ओली नेपालस्थित चिनियाँ राजदूतावासमा पुगेर तिंकर नाका तत्काल खोल्न आग्रह गर्दै ज्ञापन बुझाइएको छ ।
‘चार वर्षदेखि बन्द रहेको नाका छोटो समयका लागि भए पनि खोलियोस् र त्यहाँ सरकारीस्तरमै विधिवत् रूपले एउटा स्थायी नाका सुरु गरियोस् भनेर माग राखेका छौँ,’ व्याँस– १ का वडाध्यक्ष अशोकसिंह बोहोराले भने । माओवादी द्वन्द्वकालमा विस्थापित भएको भारतको सीतापुलसँग जोडिने छाँगरू छोटी भन्सार र तिब्बतको ताक्लाकोटसँग जोडिने तिंकर छोटी भन्सार पुनर्स्थापित हुनुपर्ने व्याँसका दानसिंह तिंकरी बताउँछन् ।

गृह मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेर नाका सञ्चालन गर्न दुई हप्ताअघि मात्र दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो । तर, चिनियाँ प्रशासनसँग सम्पर्क हुन नसक्दा ढिलाइ भएकोे प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । ‘काउन्टरपार्टसँग सम्पर्क र समन्वय गरेपछि मात्रै नाका खुल्ने मिति निर्धारण हुन्छ,’ उनले भनिन्, ‘भौगोलिक दूरी र सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ ।’
व्यापारी मात्र नभई अन्य सर्वसाधारणका लागि पनि रोजीरोटी आर्जनको गन्तव्य हो, ताक्लाकोट । व्याँस गाउँपालिका– १ का छाँगरू र तिंकरका स्थानीय वस्तुभाउ पाल्ने र भारतको धार्चुला तथा तिब्बतको ताक्लाकोटमा व्यापार–व्यवसाय तथा श्रमको काम गर्नेजस्ता आर्थिक स्रोतमाथि आश्रित रहँदै आएका थिए । ताक्लाकोट जान नपाएपछि भारततर्फ निर्भरता बढेको छ ।
छाँगरू, तिंकर पुग्न नेपाली भूमि भएरै बाटो छैन । दार्चुलाको उत्तरी हिमाली गाउँ तिंकरदेखि दुई किलोमिटर दूरीमा सीमावर्ती प्रहरी पोस्ट छ । त्यहाँदेखि चार घन्टाको पैदल दूरीमा नेपाल–चीन सीमाको पिल्लर नम्बर १ पर्छ । त्यसपछि तिब्बती क्षेत्रको कालोपत्रे सडकमार्गको २२ किलोमिटर पार गरेपछि ताक्लाकोट पुगिन्छ, जसको चिनियाँ नाम पुरङ हो ।
नाका खुल्ने चर्चा चलेपछि व्याँस– १ ले ३० जनालाई ताक्लाकोट जान पासका लागि सिफारिस दिएको छ । पहिलो चरणमा व्याँस गाउँपालिका– १ छाँगरू र तिंकरका स्थानीयलाई पास उपलब्ध गराइएको वडाध्यक्ष बोहोराले बताए । तर, नाका खुलिनसकेकाले प्रशासनले भने पास जारी गरिसकेको छैन ।
दार्चुला जिल्लावासीका लागि यसअघि जिल्ला प्रशासन कार्यालयबाट एक वर्ष अवधिको पास लिएर ताक्लाकोटसम्म वारपार गर्ने व्यवस्था थियो । तत्कालका लागि त्यही सुविधा मात्र पाए पनि जनजीवन लयमा फर्किने छाँगरू र तिंकरका स्थानीयको माग छ । पहिलो चरणमा छाँगरू–तिंकरका नागरिकका लागि भए पनि नाका खुलाउनुपर्ने व्याँसवासीको आग्रह छ ।
उरै नाका पनि खुलेन
कोभिडकै वेला उरै नाका बन्द हुँदा बझाङबाट पनि तिब्बतको यात्रा रोकिएको छ । यसअघि बर्खायाममा बझाङको साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा निकै चहलपहल हुन्थ्यो । तर, उरै नाका बन्द भएपछि सुनसान छ । नाका बन्द हुँदा बझाङका व्यापारी पनि समस्यामा परेको स्थानीय सत्यराज सिंहले बताए । बझाङका व्यापारीले समेत नाका खुलाउन माग गर्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई भेटेका छन् ।




