बैतडी– बैतडीका एक जनाको सर्पको टोकाइबाट भारतमा मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–६ ठूलीसैनीका अन्दाजी ४५ वर्षीय पदम धामीको सर्पले टोकेर भारतको दिल्लीमा मृत्यु भएको हो ।




रोजगारीको सिलसिलामा भारतमा रहेका धामीलाई शुक्रवार राति सुतिरहेकै अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेका धामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा शनिवार बिहान मृत्यु भएको उनका आफन्त दीपेन्द्र धामीले जानकारी दिए ।


धामीलाई सर्पले टोकेपछि दिल्लीको एक अस्पतालमा उपचारका लागि पुर्याएको र त्यहाँ उपचार सम्भव नभएपछि अर्को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
सिगास –६ स्थित निलपाल आधारभूत विद्यालयका पूर्व शिक्षक समेत रहेका धामीको भारतमै मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । गएको ४÷५ वर्ष यतादेखि धामी भारतको दिल्लीमा काम गर्दै आएका थिए । मृतक धामीको घरमा तीन छोरा, श्रीमती र बुढेसकालमा आमाबुवा रहेका छन् ।

