

धनगढी- कैलालीको पूर्वी भेगका बासिन्दा कर्णाली नदी पश्चिमतिरको भँगालो आसपास हजारौं संख्यामा देशावर (कुलो सफा गर्न श्रमदान) मा खटिएर सिँचाइको जोहो गर्थे । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले देशावरमा खटिने शताब्दी पुरानो यो परम्परा यसै वर्षदेखि बन्द भएको छ ।


चिसापानीस्थित कर्णाली नदीबाट स्थानीयले निर्माण गरेको रानी जमरा कुलरिया कुलोलाई आर्थिक वर्ष २०६६/६७ मा सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै आधुनिकीकरण गर्ने योजना ल्याएको हो । स्थानीयले सिँचाइका लागि रानी कुलो प्रणाली वि।सं। १९५३, जमरा कुलो वि.सं. १९६० र कुलरिया कुलो वि.सं. १९७२ मा निर्माण गरेका थिए ।


‘पुराना परम्परागत कुलोबाट सिँचाइ भइरहेको ऐतिहासिक महत्त्वकै कारण यो प्रोजेक्ट आएको हो,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रेम लासिवाले भने, ‘पहिलो र दोस्रो दुई चरणमा सम्पन्न हुने आयोजना तयार भएपछि कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका र कान्द्रा तथा पथरैया नदी आसपाससमेतको ३८ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।’
यस वर्ष चिसापानीको साइड इन्टेक र गेट जडान, १४.६५ किमि लम्बाइको लम्की नहर निर्माणको काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यसबाहेक लम्की नहरको पानी पथरैया नदीमा झारेर पथरैया र कान्द्रा नदी आसपासको पुरानो सिँचाइ प्रणालीमा पानी थप्ने काम पनि पूरा भएको उनले बताए ।

आयोजनाको हाल काम भइरहेको पहिलो चरणको समष्टिगत गुरुयोजना अन्तर्गत २० हजार ३ सय हेक्टरमा सिँचाइ प्रणाली विस्तार गर्न २७ अर्ब ७० करोड २४ लाख खर्च हुनेछ । जसमा १० अर्ब विश्व बैंक, १७ अर्ब ५० करोड नेपाल सरकार र १८ करोड उपभोक्ताको लगानी रहेको आयोजना कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०८०/८१ सम्म सम्पन्न हुनुपर्ने यो आयोजनाको पहिलो चरणमा वित्तीयतर्फ ६५।२ र भौतिकतर्फ ६७ प्रतिशत प्रगति भएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लासिवाका अनुसार पहिलो चरणको आयोजना सम्पन्न हुन अझै तीनरचार वर्ष लाग्ने देखिन्छ । हालसम्म आयोजनामा १८ अर्ब ६ करोड ९५ लाख खर्च भएको छ ।
आयोजनाअन्तर्गत कर्णालीमा निर्माण गरिएको इन्टेकबाट १ सय क्युमेक (३ हजार ५३१ क्युसेक) पानी डिस्चार्ज क्षमता रहेको लासिवाले बताए । गुरुयोजना स्वीकृत नभएको दोस्रो चरणको १८ हजार हेक्टरमा सिँचाइ गर्ने नहर प्रणालीका लागि १३ अर्ब रुपैयाँ थप आवश्यक हुने भएकाले लगानीका लागि विश्व बैंकसँग पहल पनि भइरहेको उनले बताए । यो आयोजनाबाट टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्की चुहा नगरपालिकाका ३४ हजार ५ सय ८९ घरधुरीका ३ लाख ५२ हजार ४ सय ३० स्थानीय सिँचाइ सुविधाबाट लाभान्वित हुनेछन् ।
सिँचाइ प्रणालीमा स्थानीयको अपनत्व कायम गराउन आयोजनामा तीनवटा मूल नहर र शाखा नहरका बेग्लाबेग्लै उपभोक्ता समिति गठन भएका छन् । सिँचाइको पानीपोतबापत तीनवटै समितिमा सरदर वार्षिक १८ लाख राजस्व संकलन हुने गरेको आयोजनाका डीई केशव अधिकारीले बताए ।
मूल नहरमा थुप्रिने बालुवा आयोजनाले हटाउने, शाखा नहरको बालुवा उपभोक्ता समितिले श्रमदानमा सफा गर्दै आएको किसान जितबहादुर चौधरीले बताए । ‘पहिले कर्णाली पुगेर देशावर गरेर कुलो मर्मत गर्थ्यौं,’ उनले भने, ‘यो वर्षदेखि देशावर परम्परा बन्द भयो । अब शाखा नहर सफा गर्ने काम किसान आफैंले गर्छन् ।’
स्थानीयका अनुसार बर्खामा कर्णाली नदी कटान नियन्त्रण मुख्य समस्या छ । बाढीले टीकापुरतर्फको शाखा नहर कटान गर्दै आएको छ । पूर्वी खैरीफाँटा, जगतपुर, शिवशक्ति सामुदायिक वनलगायत केही क्षेत्र कटानको उच्च जोखिममा छन् । आयोजनाअन्तर्गत जानकी गाउँपालिका–९ कटाँसेमा नहरको पानीबाट ४.७१ मेगावाट विद्युत् उत्पादनका लागि पावर हाउस निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाका ठेकेदार कम्पनी स्यु तुदी जेभीका प्रतिनिधि उदय पोखरेलका अनुसार यो विद्युत् लम्की सबस्टेसनमा जोडिनेछ ।