

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक साता देखी तालाबन्दी गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो।


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय आयोजक कमिटीका सह९सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चयकालीन तालाबन्दी गरिएको जानकारी दिए ।



“तालाबन्दी गरेको एक साता बित्दा पनि छलफलका लागि बोलाएको छैन।” उनले भने । अनेरास्ववियु र विश्वविद्यालय बिच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी संकायतर्र्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने ,छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेको छ।
कार्यविधि मापदण्ड विपरीत कर्मचारी प्राध्यापकहरूको सरुवा गर्ने,समयमै कोर्स पूरा गर्नुपर्ने, विश्वविद्यालयको निर्देशक पदमा पूर्णकालीन रूपमा काम गर्नुपर्ने भए पनि सो काम छोडेर केन्द्रीय क्याम्पसमा आर्थिक लाभका लागि पढाउन जाने निर्देशकहरुलाई तत्काल कारबाही गर्नुपर्ने ।
विश्वविद्यालयको संवेदनशील अग परीक्षा नियन्त्रण कार्यालयको सह(नियन्त्रक पदमा नियुक्ति भएकाहरू समेत आर्थिक लाभका लागि क्याम्पसमा पढाउन जाने कार्य भइरहेकोले सो कार्यमा संलग्नहरूलाई समेत कारबाही गर्नुपर्ने माग अघि सारेको छ।
केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । उनले साउन एकगतेदेखी भएको तालाबन्दीले कार्यालयको नियमित कामकाज प्रभावित भएको बताए ।

