

कैलाली- सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले वन फँडानी गर्ने जोसुकै भए पनि नछोडिने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका –१२, रातोपानी सामुदायिक वनको निरीक्षणलगत्तै शुक्रबार पत्रकारसँगको भेटघाटमा मन्त्री धामीले सो कुरा बताएका हुन् ।


वन क्षेत्रमा व्यापक रुपमा रुख कटान गरी काठ तस्करी भइरहेको उपभोक्ताले गुनासो गरेपछि मन्त्रालयका सचिव वेकुमार ढकालसहितको टोली लिएर मन्त्री धामी रातोपानी सामुदायिक वनको निरीक्षण तथा अनुगमनमा गएका थिए ।



मन्त्री धामीले छानबिन गरेर वन फडानीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । उनले भने, ‘वन फँडानी भएको देखिएको छ, फँडानी गर्ने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याइनेछ, मन्त्रालयले यसको छानबिन गर्छ । संलग्नलाई कारवाही हुन्छ ।’
मन्त्रीसहितको टोलीले सामुदायिक वनभित्र रुख कटान गरिएको केही क्षेत्रको निरीक्षण गरेको मन्त्री धामीका स्वकीय सचिव रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको स्थानीय उपभोक्ताले बताएका छन् । सामुदायिक वनका पदाधिकारीको संलग्नतामा वन फँडानी भएको उपभोक्ताको आरोप छ ।
रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर बिकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सव वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ ।
वन फडानी भएको खबरपछि केही दिनअघि निरीक्षणमा गएको टोलीले दुई जनालाई पक्राउ गर्नुकासाथै दुईसय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए । उनले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीको संलग्नता रहेको बताए ।

